१९ असोज २०७९, बुधबार

आज संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखले के भने?

  • ३ असोज २०७९, सोमबार
Image

काठमाडौं- नेपालको संविधान २०७२ जारी भएको सात वर्ष पूरा भएको छ। यस अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना व्यक्त गरेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन्। 

दिवसका अवरमा आज दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्‍न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गरेकी छन्।

'नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ,' सन्देशमा भनिएको छ, 'वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ।'

उनले संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिँदै नवस्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेको उल्लेख गरेकी छन्। 

संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य शर्त : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य शर्त भएको बताएका छन्। संविधान दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान पालनमा केही चुनौतीहरु देखापरे तापनि संविधानको कार्यान्वयनमा सन्तोषजनक अवस्था बताएका हुन्।

संविधानअनुसार दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको जनाउँदै उहाँले संविधान गतिशील दस्तावेज भएकाले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिने बताए। उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षका रुपमा रहेका आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई महान् उत्सवका रुपमा लिएर सहभागिता जनाउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गरेका छन्। 

उनले संविधानको पूर्ण पालना गर्दै नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती, राष्ट्रिय एकताको सुदृढी र समतामूलक समाजसहितको समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई प्रेरणा देओस् भनी कामना गरेका छन्। 

सार्वभौम संविधानसभाबाट संविधान जारी भएको २०७२ असोज ३ गते नेपाली इतिहासकै सुनौलो दिन भएको उल्लेख गर्दै उनले आजको दिन प्राप्त गर्न भएका विभिन्न कालखण्डका जनआन्दोलन, जनयुद्ध र २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन र अन्य आन्दोलनका शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। उपराष्ट्रपति पुनले सङ्घर्षका घाइते अपाङ्ग योद्धाहरूप्रति सम्मानसहित स्वास्थ्य लाभको कामना गरेका छन्। 

'यो ऐतिहासक दिनमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गर्दै आफ्नो अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपील गर्दछु,' उनले सन्देशमा भनेका छन्, 'बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्थालगायत नेपाली जनताको अधिकारलाई संविधानले संस्थागत गरेको छ।'

उपराष्ट्रपति पुनले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने सङ्कल्प लिइएको जनाएका छन्। 

संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसंगतिलाई अन्त्य गरेको उल्लेख गरेका छन्। साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।

आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानबाट असोज ३ गते, २०७२ मा घोषणा भएको नेपालको संविधान हाम्रो सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्। 

यस उपलब्धि हासिल गर्नका लागि भएका सङ्घर्षहरूमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानीक क्षति व्यहोर्नुभएका महानुभावलाई उच्च सम्मानपूर्वक स्मरण गर्दै उनले प्राकृतिक विपत् र कोभिड–१९ को महामारीबाट अल्पायुमै ज्यान गुमाएका दिदीबहिनी तथा दाजुभाइलगायत सबैमा श्रद्धासुमन अर्पण गरे।

कांग्रेस नेतृत्वको सरकार मुलुकमा सङ्घीय लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको उनले बताएका छन्। 'सरकारले यसै वर्ष स्थानीय तहको आवधिक निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ भने आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनबाट संविधानले आत्मसात् गरेको लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यता तथा सबैको हक र अधिकार व्यावहारिक रुपमा स्थापित हुनेछ,' उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन गर्दै हाम्रा साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सदाझैँ सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएका छन्। उनले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन्।

संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम् समझदारी आवश्यक : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम् समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। संविधान दिवस–२०७९ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विवादलाई संवादमा रुपान्तरण गर्न, राष्ट्रिय एकता कायम गर्न र संविधानको निष्ठापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

सभामुख सापकोटाले संविधानमा लिपिबद्ध हकअधिकार कार्यान्वयनका लागि पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा आग्रह गरेका छन्। नेपाली जनताको दशकौँ लामो अनवरत संघर्षको परिणामका रुपमा प्राप्त भएको नेपालको संविधान लागू भएको सात वर्ष पूरा भएको जनाउँदै उनले संविधान जारी गरिएको यो विशेष दिनमा जनयुद्ध, जनआन्दोलन एवम् विभिन्न कालखण्डमा भएका सङ्घर्षमा जीवन अर्पण गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। 

संविधान जारी भएपछि सङ्घीय संसद्, प्रतिनिधिसभाको पहिलो कार्यकाल पूरा हुने चरणमा रहेको जनाउँदै उनले भनेका छन्, 'यस अवधिमा संविधान रक्षाका लागि अनेक पहल पनि भए । हामीले लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु सम्पादन पनि गरेका छौँ। संविधानमा मूलभूत लोकतान्त्रिक मूल्यमान्यता समेटिएका छन्। यसबीचमा भएका कमीकमजोरी सच्याएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान समृद्ध हुँदै जाने नै छ।'

प्रतिक्रिया

सम्बन्धित खवर