३१ असार २०८१, आइतबार

महाभियोग सिफारिस समितिको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

  • १५ भदौ २०७९, बुधबार
Image

काठमाडौं- महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फेरि बयानका लागि बोलाएको छ। बुधबार समितिले जबरासँग चारवटा प्रश्न सोधेको थियो। भोलि फेरि बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए।

मंगलबार समितिको बैठकमा उपस्थिति भएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयान दिएका थिए। बैठकमा समितिका सदस्यहरुले प्रधानन्यायाधीश जबरालाई विभिन्न प्रश्न गरेका थिए। जबराले समितिका सदस्यहरुको प्रश्नको जवाफ दिएका छन् । जबराले बारका पूर्वपदाधिकारीमाथि गम्भीर आरोप लगाएका छन्।

नेपाल बारका पूर्वपदाधिकारीले उच्च अदालतको न्यायाधीश मागेको र सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले मुद्दा मिलाइदिनुपर्ने कुरा राखेको जबराले आरोप लगाएका हुन्।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा जबराले नामै किटेर नेपाल बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र पूर्वमहासचिव लिलामणि पौडेलले उच्च अदालतमा न्यायाधीश मागेको बताए ।

'नेपाल बारको तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठले उच्च अदालतमा न्यायाधीश माग्नुभएको थियो। बारको तत्कालीन महासचिव लिलामणि पौडेलले उच्च अदालतको मुख्य न्यायाधीश माग्नुभएको थियो,' जबराले थपे, 'तत्कालीन महासचिव न त वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो। त्यसैले हुन्न भनेको हो। उहाँले मेरो च्याम्बरमा आएरै उच्च अदालतको मुख्य न्यायाधीश माग्नुभएको हो।'

त्यस्तै, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शक्यले मुद्दाबारे चासो राखेको जबराको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर