१६ चैत २०८०, शुक्रबार

चीनले गरेको नाकाबन्दीमा मौन छन् 'राष्ट्रवादी कम्युनिस्टहरु'

  • ९ भदौ २०७९, बिहिबार
Image

काठमाडौं- नेपालमा राष्ट्रवादको ठेक्का परेको ठान्‍ने नेपालका कम्युनिस्ट पार्टीहरु चिनियाँ नाकाबन्दीमा भने मौन देखिएका छन्। करिब ३० महिनादेखि नेपालको सीमा नाका बन्द गरिरहेको चीनले बीचमा केही समय खुला गरेको देखाए पनि साउन अन्तिम सातादेखि भने पुन: चिनियाँ नाका बन्द गरिएको हो। 

भारतीय सीमा क्षेत्रमा नेपालका मधेस केन्द्रित राजनीतिक दलहरुले ठप्प पार्दा भारतीय नाकाबन्दी भएको प्रचार गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, भिम रावललगायतका नेताहरु चिनियाँ नाकाबन्दीको विषयमा भने तै चुप मै चुप बनेका छन्। यसअघि अमेरिका र भारतका हरेक विषयमा कडा टिप्पणी दिएर 'राष्ट्रवादी नेता' को ठेक्का पारेका भिम रावल पनि चिनियाँ नाकाबन्दीका विषयमा कानमा तेल हालेर बसेका छन्। 

चीनले नेपालको उत्तरी सीमा हुम्लामा अतिक्रमण गरेको विषयमा अध्ययन गर्न समिति गठन हुँदा चार हात उफ्रिएका सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका नेताहरु चीनले नाकाबन्दी गर्दा भने मौन देखिएका छन्। चीनले परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणका लागि प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै चीनले उत्तरी सीमा नाका ठप्प पारेको थियो। 

यसबारे परराष्ट्रका अधिकारीले आफूहरुलाई नाकाबन्दीबारे कुनै औपचारिक जानकारी नआएको बताएका छन्। सरकारलाई चिनियाँ नाकाबन्दी बारे कुनै औपचारिक जानकारी नभए पनि सीमा क्षेत्रमा भने आवतजावत पूर्णरुपमा बन्द गरिएको छ। 

परराष्ट्र मन्त्रालयले साउन २६ गते राति जारी गरेको विज्ञप्तिमा भने महामारी नियन्त्रणमा आएपछि रसुवा-केरुङ तथा तातोपानी-झाग्मु नाका सञ्‍चालनमा ल्याउने विषयमा सहमति भएको जनाइएको छ। 

विज्ञप्तिमा भनिएको छ, 'दुवै पक्षले सीमा नाकामा संयुक्त महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति भएको छ। यसैगरी तिब्बतमा देखिएको पछिल्लो लहरको कोभिड महामारी नियन्त्रणमा आएपछि रसुवा-केरुङ तथा तातोपानी-झाग्मु नाकाबाट दुईतर्फी व्यापार सुचारु गर्ने र हिल्सा-पुलाङ नाकालाई एकतर्फी रुपमा खोल्ने सहमति भएको छ।' 

तर, चीनले नेपालको सीमा नाका बन्द गरेर नेपालको अर्थतन्त्रमा चोट पुर्‍याउने र चिनियाँ सहयोग र चीनसँग याचना गर्न बाध्य बनाउने रणनीति रहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरु पनि यसबारे अनभिज्ञता प्रकट गर्छन्। 

मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मी भन्छन्, 'सरकारलाई नाकाबन्दी कहिलेदेखि गरेको हो, किन गरिएको हो भन्‍ने विषयमा औपचारिक जानकारी प्राप्त भएको छैन।' कोरोना महामारीका कारण एक साता बन्द गर्ने भन्‍ने सुनिएको भए पनि औपचारिक केही खबर नभएको उनले बताए।  

गत वर्षको अन्त्यमा दुई मुलुकका परराष्ट्रमन्त्रीबीच टेलिफोन कुराकानी भएपछि केही सहज बनाइएको बताइए पनि नाका पूर्ण रुपमा खुल्‍न नपाउँदै फेरि ठप्प पारिएको हो। २०७८ फागुन २३ मा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग करिब एक घण्टा टेलिफोन कुराकानी गरेपछि चीनले नाका केही सहज बनाएको भए पनि पछिल्लो समय फेरि बन्द गरिदिएको हो। 

नाका खुलाउने सम्बन्धमा यसअघि नै दुई मुलुकबीच पटक–पटक सहमति भए पनि पूर्ण रुपमा नखोल्दै चीनले कोरोनालाई कारण देखाउँदै पूर्ण रुपमा नाका बन्द गरेको हो। तातोपानी नाकामा सन् २०१५ को भूकम्पयता र रसुवागढी नाकामा २०१९ को अन्त्यमा सुरुवात भएको कोभिड–१९ को संक्रमणयता पहिलेको अवस्थामा सुरु हुन सकेका छैनन्। 

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले पूर्वजानकारी बिना नाका बन्द हुँदा व्यवसायमा ठूलो असर पर्ने बताएका छन्। उनले भनेका छन्, 'सूचनाबिनै नाका बन्द भएको हो। अनौपचारिक रुपमा १ हप्ताको लागि बन्द भएको भन्‍ने जानकारी पाएका थियौं। तर, अहिले १० दिन बितिसक्दा पनि नाका खोल्‍ने विषयमा कुनै जानकारी छैन। चाडपर्व नजिकिएको समयमा भएको नाकाबन्दीले नेपालका व्यवसायीलाई निकै ठूलो अप्ठ्यारो पार्छ।’

कोरोना संक्रमण फैलिन नदिन ‘आइसोलेट एरिया’ सहित सञ्चालित तातोपानी नाकाबाट चीन र नेपाल बोर्डर न्यु मोडालिटीअनुरूप स्वास्थ्य प्रोटोकल अपनाएर टेलर कन्टेनर प्रयोगमा ल्याइँदै आएको भए पनि अहिले भने पूर्ण रुपमा नाकाबन्द गरेको विषयप्रति भने भन्सारकै अधिकारीहरुले आश्‍चर्य व्यक्त गरेका छन्। ‘कोरोनाकै लागि यतिका प्रोटोकल र आइसोलेट क्षेत्र तोकेर दिनहुँ १४ वटा कन्टेनरबाट आउन दिने गरिएको थियो। अब फेरि त्यही मुद्दा बनाएर नाका बन्द भएको छ,’ एक अधिकारीले भने।

चीन समर्थित कम्युनिष्टहरुले भने आगामी चुनावमा आफूलाई असर पर्नसक्ने र चीनले सहयोग नगर्ने भएका कारण चिनियाँ नाकाबन्दीबारे मुख खोल्‍न सकेका छैनन्। उनीहरुले भारत तथा अमेरिकाको विरोध गर्नका लागि भने तम्तयार भएको देखिन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर