काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका शेखर कोइरालाले पार्टीमा भागबण्डाको राजनीति नगर्ने र आफूले कुनै पनि भाग नमाग्ने प्रतिबद्धता गरेका शेखर कोइराला गुट भेलामा रमाउने गरेका छन्।
कोइरालाले नेपाली कांग्रेसबाट स्थानीय निर्वाचन जितेका स्थानीय तहका जनप्रतिनिधिहरुलाई छुट्टै बधाई तथा शुभकामना कार्यक्रम राखेका छन्। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार र मंगलबार देशभरका जनप्रतिनिधिका लागि बधाई, शुभकामना तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो।
लगत्तै बुधबार बिहान कोइराला समूहले बत्तिसपुतलिस्थित अनुपम फुडल्याण्डमा छुट्टै चियापान तथा बधाई काय्रक्रम आयोजना गरेको छ।
कार्यक्रममा संस्थापनइतर पक्षका निर्वाचित गाउँपालिका, नगरपालिकाकाका अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुख र जिसस प्रमुख–उपप्रमुख सहभागी छन्।
यसअघि महाधिवेशनमा पराजित भए पनि सभापतिलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने तर विगतमा जस्तो ६०-४० को भागबण्डाको संस्कृतिलाई अन्त्य गर्ने कोइरालाले घोषणा गरेका थिए। तर, महाधिवेशन भएको ६ महिना बित्न नपाउँदै भागबण्डाको छटपटिएर भाग माग्दै बार्गेनिङ गरिरहेका छन्।
गत चैतमा नै नेता कोइरालाले आफ्नो गुटको भेला बोलाएर सभापति शेरबहादुर देउवाले महाधिवेशनको ४० प्रतिशत मतको अस्तित्व स्वीकार गर्न नचाहेको निष्कर्ष निकाल्दै घुमाउरो भाषामा आफूलाई भाग चाहिएको बताएका थिए। उनले भागबन्डा र गुटको राजनीतिले पार्टी ध्वस्त हुने बताएका उनले गुटबन्दी गर्दै आएका छन् भने भाग नदिए त्यसको सशक्त प्रतिरोध गर्ने निष्कर्ष निकालेका छन्।
कोइराला समूहको शनिबार बसेको गुट भेलाले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रदेश र प्रतिनिधिसभामा पार्टीले पाउने सिटबाट ४० प्रतिशत भाग माग्ने निर्णय गरेको हो। पाँचदलीय सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे गृहकार्य चलिरहेका बेला कोइराला समूहले पार्टीको जनाधार र आमकार्यकर्ताको भावनाअनुसार ६० प्रतिशत सिट लिन नेतृत्वलाई सुझाएको छ।
पार्टी र सरकार सञ्चालनको मोर्चामा फरक विचार समूहको अस्तित्वलाई स्वीकार नगरी सभापति देउवा एकलौटी ढंगले अघि बढेको निष्कर्ष निकाल्दै कोइराला समूह आफ्नो पक्षका नेता–कार्यकर्ताको सेटलमेन्टका लागि ४० प्रतिशत माग गर्ने पुगेको हो।
सभापति देउवाको चर्को आलोचना गर्दै आएका उनी आफ्नै बोलीलाई लाजको घुम्टोले छोपेर भागबण्डा र गुटको राजनीतिलाई तीव्ररुपमा अघि बढाइरहेका छन्।
कोइरालाले हरेक बैठकभन्दा अघि गुट भेला बोलाउने गरेका छन्। गुट भेलाको रणनीति अनुसार नै बैठकमा देउवालाई घेराबन्दीमा पार्ने रणनीति लिने गरिएको छ। शनिबार पनि पार्टीको कार्यसम्पदान समितिको बैठकअघि अनुपम फुडल्यान्डमा गुट भेला बोलाएका थिए।
यसअघि त गुट भेलाका लागि पार्टी कार्यालयमा नै छुट्टै हल माग गरेपछि देउवाले पनि होटल-होटलमा हल्ला गर्दै हिड्नुभन्दा पार्टी कार्यालयमै गुट भेलाका लागि अनुमति दिएका थिए। शनिबार पनि यस्तो रणनीति बनाउनुका पछाडि देउवाले निर्वाचनपछि फेरि प्रधानमन्त्री बन्ने स्वार्थबाट ‘टिकट’ वितरणमा एकलौटी गर्न सक्ने मनोविज्ञान मुख्य कारण रहेको कोइराला समूहका एक नेताले बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation