काठमाडौं- नेपाली कांग्रेसबाट जितेका देशभरका जनप्रतिनिधिहरु ललितपुरको झम्सीखेलमा रहेको हेरिटेज गार्डेनमा रहेका भेला भएका छन्।
कांग्रेसले सोमबार र मंगलबार स्थानीय चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई अभिमूखिकरण दिँदैछ। उक्त भेलाको प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले सबै जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्नेमा आफू विश्वस्त रहेको बताए।
'मैले विशिष्ट परिस्थितिमा सरकारको नेतृत्व गरेको हुँ। कोभिड नियन्त्रण गर्ने, लोकतान्त्रिक मूल्यमान्यता स्थापित गर्ने र एमसीसी अनुमोदन गर्ने जिम्मेवारी थियो। त्यो पूरा गरेको छु,' उनले भने। कांग्रेसकै नेतृत्वमा स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न भएको देउवाले बताए।
कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहमा कांग्रेसतर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख / उपप्रमुख, पालिकाका प्रमुख / उपप्रमुख र अध्यक्ष / उपाध्यक्षहरूलाई ललितपुरमा सोमबार र मंगलबार प्रशिक्षण हुँदैछ। प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन्।
कार्यक्रमको उद्घाटनपछि वरिष्ठ कानुनविद् काशिराज दाहाल, योजना आयोगको उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थशास्त्री जगदीश भट्टराई, प्राकृतिक स्रोत सम्बन्धि विज्ञ सन्तोषमणि नेपालले प्रशिक्षण दिने कार्यक्रम छ।
यस्तै दोस्रो दिन ३१ गते उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतले प्रशिक्षण दिने छन् । उपसभापतिद्वय खड्का र गुरुङले स्थानीय सरकार र पार्टीको सम्बन्धनबारे प्रशिक्षण गर्ने छन्। महामन्त्री गगन थापाले घोषणापत्रबारे प्रशिक्षण दिने छन् भने विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे धारणा राख्ने छन्। यस्तै प्रवक्ता प्रकाशशरण महतले प्रचार–प्रसार अभियानबारे प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation