१४ जेठ २०८१, सोमबार

सप्तकोसी बाढी : विस्थापितका लागि राहत सहयोगको आह्वान

  • १९ साउन २०७९, बिहिबार
Image

काठमाडौं- सप्तकोसी नदीले ३४ वर्षपछि मानवीय बस्ती बसेको उदयुपरको बेलका नगरपालिकाका धेरै वडा छुँदै धार फेर्‍यो। हजारौँ घर परिवार प्रभावित भए। झण्डै आठ हजार हेक्टरमा नदी पसेको छ।

स्थानीय पालिका, प्रशासन कार्यालय सुरक्षाकर्मी तथा विभिन्न सङ्घ संस्थाको सहयोगमा एक हजार बढी परिवारको फसेको स्थानबाट उद्धार गरेको छ। बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले प्रभावितका लागि विभिन्न क्षेत्रमा आश्रयस्थल निर्माण गरी व्यवस्थापन गरिएको जानकारी दिए।



उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आफूहरु अहिले पनि फिल्डमा खटिएर अनुगमन गरी प्रभावितका लागि आवश्यक व्यवस्थापनमा जुटेको बताए। उनका अनुसार अहिले बहाव कम भएकाले व्यवस्थापनमा केही सहज भएको छ।

सप्तकोसीको भङ्गालो पसेर प्रभावित भएका हजारौँ स्थानीयवासीका लागि राहत सहयोग गर्न सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई आह्वान पनि गरिएको छ।

उनीहरुका लागि अस्थायी आश्रयस्थल निर्माण, राहत तथा खाद्यान्न र टेन्टलगायतका अत्यावश्यक सामग्री आवश्यक भएकाले विभिन्न निकायलाई सहयोगका लागि आह्वान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।

राहत सङ्कलन र वितरणलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्नेगरी आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ। बुधबार सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटबाट तटबन्ध फुटाउँदै दक्षिण पश्चिम क्षेत्र पस्दा उक्त नगरपालिकाका १, २, ३, ८ र ९ वडाका करिब दुई हजार घरपरिवार प्रभावित भएका थिए।

उनीहरुमध्ये एक हजार परिवारलाई उद्धार गरिएको थियो भने अन्य स्थानीयवासी आफैँ घर छाडेर सुरक्षित स्थनमा पुगेका थिए। उक्त क्षेत्रमा हालसम्म कुनै मानवीय क्षति भने भएको छैन।

धान, मकैलगायतका खेतीबालीमा क्षति पुगेको छ। बाढीबाट प्रभावित करिब एक हजार घरपरिवारको उद्धार गरी सुरक्षितस्थलमा सारिएको पनि उनले जानकारी दिए। उद्धार गरिएका नागरिकको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी रहेको पनि उनले बताए ।

प्राधिकरणको समन्वयमा बेलायत सरकार र केयर नेपालले विस्थापितका लागि खाद्यान्न खरिद गर्न छ लाख तथा सरसफाइका सामान, स्यानिटरी प्याड र आधारभूत सेल्टरका सामग्रीका लागि रु ११ लाख राष्ट्रिय किसान समूह महासङ्घमार्फत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको प्राधिकरणले जानकारी दिएको छ।

बेलकाका नगर प्रमुख कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाबीचको आकस्मिक बैठकले बेलका र बराहक्षेत्र नगरपालिकाका नगर–प्रमुखको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइट, वडाध्यक्षलगायत आवश्यतानुसार पदाधिकारी सहभागी हुने गरी खोज, उद्धार, पुनःस्थापना तथा विपद् व्यवस्थापन समिति गठन गरेको छ।

बैठकले नदीले पुर्‍याएको तथा पुर्‍याउन सक्ने थप क्षति आधिकारिक सूचना सम्प्रेषण गर्न सूचना संयन्त्र निर्माण गर्ने पनि निर्णय पनि गरेको छ। सप्तरीका सप्तकोसी र कञ्चनरुप नगरपालिकाका प्रभावित हुनसक्ने वडाका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।

विभिन्न क्षेत्रमा आश्रयस्थल निर्माण

प्रभावितका लागि बेलका–९ धौरीमा पाँच सय घरपरिवार, ८ का एकता, चिलिया र दुर्गामन्दिर टोलमा पाँच सय घरपरिवार, वडा नं ३ बुधबारे, गणना र शुक्रबारेमा पाँच सय परिवारका लागि आश्रयस्थल बनाइएको छ।

यस्तै बानडाँडा, रामनगर, नारायणपुरमा, शिवालयमन्दिर, लालभित्त, भागलपुरमा आठ सय घरधुरीका लागि आश्रयस्थल बनाइएको छ। आवश्यकताअनुसार वडा नं १ को पुरन्दह, वडा नं ८ को डुडखोला सामुदायिक भवन, वडा नं ९ र ३ को खसीबोका सङ्कलन केन्द्र, खानेपानी, क्याम्पस, मचुवाबजार, आदिवासी–जनजाति भवन, सोही वडाकै गलफडिया विद्यालय वडा नं २ को रेडक्रस भवन र जनता माविमा सुरक्षित आश्रयस्थल तयार पारिएको छ।

राहत सामग्री एकद्वार प्रणालीबाट सङ्कलन गरी एकद्वार प्रणालीबाटै वितरण गर्ने निर्णय गरेअनुसार राहत सङ्कलन थालिएको बेलका नगरपालिकाले जनाएको छ। राहत वितरण गर्दा उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा निजले तोकेका अधिकृत, दुवै नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने भएको छ।

त्यहाँ नेपाल रेडक्रस सोसाइटीले एक सय थान त्रिपाल, एक थान रवरबोट, छ थान हेल्मेट उपलब्ध गराएको छ भने खाद्यान्न खरिदमा रु ५० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न नमानेकाले मानवीय क्षति हुनसक्ने भएकाले जिल्ला तथा स्थानीय प्रशासनले सबै नागरिकलाई सुरक्षित स्थलतर्फ जान अनुरोध पनि गरेको छ।

उदयपुरको उक्त क्षेत्रमा विसं २०४५ अघि कोसी बग्ने गरेको थियो। त्यस बेलाको भूकम्पपछि भने नदीले धार परिवर्तन गरेर अन्यत्र मोडिएपछि सो क्षेत्रमा बस्ती बसेको हो । कोसी ३४ वर्ष पनि त्यही बस्ती सोझ्याउँदै आफ्नो धार परिवर्तन गरेका कारण स्थायी बसोबास गरेका परिवारका झण्डै २० हजार मानिस प्रभावित भएका जनाइएको छ।

बाढी बस्तीमा पसेसँगै त्यहाँ प्रदूषणका कारण रोगव्याधी फैलनसक्ने तथा खाद्यान्नको अभाव हुनसक्ने भएकाले आवश्यक व्यवस्थापन थालिएको प्राधिकरणले जनाएको छ।







प्रतिक्रिया

सम्बन्धित खवर