बेइजिङ- नेपालमा लागि प्रस्तावित राजदूतको अभिव्यक्तिप्रति चीन आक्रोशित बनेको छ। चीनले नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। शुक्रबार काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग जोडेर चीनको भूमिकाप्रति थम्पसनले दिएको अभिव्यक्तिको खण्डन गरेको हो।
थम्पसनले बुधबार अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय समितिमा बोल्दै नेपालमा चीनको विरोधकै बीच एमसीसी परियोजना अनुमोदन भएको बताएका थिए। उनले चिनियाँ दुष्प्रचारका बीच नेपालको संसदले ५०० मिलियन डलरको एमसीसी परियोजना अनुमोदन गरेको बताएका थिए।
चिनियाँ दूतावासका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा थम्पसनले चीनको निन्दा मात्र गरेको नभई नेपाल र नेपाली जनताको समेत अपमान गरेको बताइएको छ। विज्ञप्तिमा भनिएको छ- ‘उनले चीनको मात्र निन्दा गरेका छैनन्, नेपाल र त्यहाँका जनताको समेत अपमान गरेका छन्। चीनले यसलाई दृढतापूर्वक अस्वीकार गरेको छ।’ दूतावासले एमसीसीबारे नेपालमा चर्को बहस भएको र त्यही बीचमा व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएको स्मरण गराएको छ।
कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने नीति चीनको नरहेको बताउँदै विज्ञप्तिमा भनिएको छ :‘अन्तर्राष्ट्रिय विकास सहयोगलाई पछ्याउने क्रममा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नुपर्छ, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ र कुनैपनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन भन्ने चीनको दृढ विश्वास छ।’
थम्पसनले सिनेटमा गरेको टिप्पणीलाई ध्यान दिइएको बताउँदै विज्ञप्तिमा उक्त टिप्पणी पूर्णतया आधारहीन भएको दाबी गरिएको छ। विज्ञप्तिमा नेपाल मित्रवत निकट छिमेकी र विकास साझेदार समेत रहेको बताउँदै चीनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न र नेपाली जनतालाई स्वतन्त्र रुपमा आफ्नै विकासको बाटो रोज्न सहयोग गर्ने बताइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation