१९ असोज २०७९, बुधबार

राष्ट्र निर्माणमा युवाको भूमिका

  • २४ असार २०७९, शुक्रबार
Image

  • मनिष जङ्ग थापा

काठमाडौं- देशमा युवालाई आकर्षित गर्ने नीति तथा कार्यक्रम नहुँदा दैनिक लगभग २ हजारको हाराहारीमा युवाहरू खाडी मुलुकसहित अनेकौं राष्ट्रमा श्रम बेच्न विवश भएका छन्।

न्यूनतम पारिश्रमिक, त्यसमा पनि नाना थरीका पीडा सहेर ५० डिग्रीको तापक्रममा सहेर पसिना बगाउन बाध्य छन् नेपाली युवा। युवाशक्तिलाई नेपालमै रोक्न नसक्दा मुलुकले ठुलो नोक्सानी ब्यहोर्नु परिरहेको छ। आफ्नो घरखेत नै बन्दकी राखेर विदेशिनु कम्ता पीडादायी अवस्था होइन्।

नेपालमा गरिएको सम्झौताअनुसार काम गर्न नपाइने, गरिएअनुरूपको तलब सुविधा नपाउने, अन्य सेवासुविधा पनि उल्लेख गरिएअनुसारको नदिने जस्ता कयौँ समस्या नेपाली युवाले विदेशमा भोग्नु परिरहेको छ।

निर्माण गरिएको युवा नीतिमा १५ वर्षदेखि ४० वर्षसम्मकालाई युवा मानिएको छ । तर, सामान्यतया सरकारी नोकरीका लागि उपयुक्त मानिने ६० वर्षसम्मका व्यक्ति नै युवा हुन् भन्न सकिन्छ ।

युवावर्गको नेतृत्वमा उत्तम बन्न सफल विविध निजी कार्यालयहरू नभएका होइनन्, बैंकिङ तथा सूचना प्रविधिका क्षेत्रमा युवा नेतृत्वले उल्लेख्य प्रगति गरेको छ, जुन राम्रो दृष्टान्तका रूपमा रहेको पनि छ।

सूचना प्रविधिको विकास तथा प्रयोगबाट नेपाली युवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति राख्न सफल भएका छन् । यो कार्य आमयुवावर्गकै लागि पनि गर्व गर्ने विषय पनि हो।

मुख्यतया मूलनीतिमा रहने राजनेताहरू नै युवावर्ग हुनु जरुरी देखिन्छ । किनभने यसले सबै क्षेत्रमा दूरगामी प्रभाव पार्छ । जसरी पानीको मुहान स्वच्छ भए मात्रै त्यहाँबाट बग्ने पानी स्वच्छ हुन्छ, त्यसरी नै राजनीति गर्ने स्थानमा नेताहरू युवावर्गका भए मात्र त्यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्छ।

नेपालको राजनीतिक परिवर्तनमा पनि युवावर्गको भूमिका सदैव प्रशंसनीय रहेको छ, चाहे त्यो ०७ सालको विद्यार्थी आन्दोलन नै किन नहोस् । त्यसैगरी ०४६ सालको पहिलो जनआन्दोलन सफल बनाउन पनि युवा विद्यार्थीवर्गको महत्वपूर्ण भूमिका रह्यो ।

लोकतन्त्र स्थापना गराउने ०६२-६३ सालको दोस्रो जनआन्दोलन सफल बनाउनमा पनि युवावर्गको भूमिका अद्वितीय रहन गयो। समग्रमा युवा नै देशको समस्त विकासको महत्वपूर्ण जनशक्ति हुन्, तसर्थ उनीहरूलाई परिचालन गर्नका लागि राज्यले आकर्षित र कार्यान्वयन गर्ने नीति निर्माण गर्नु जरुरी छ।

जसमा युवालाई कृषि पर्यटन र अन्य विविध क्षेत्रमा स्वदेशमा नै रहेर कार्य गर्ने युवामैत्री वातावरण सिर्जना गर्नमा विलम्ब गर्नु हुँदैन। जसरी राजनीतिक परिवर्तन गर्नमा युवाको योगदान अतुलनीय रह्यो, त्यसैगरी देशको आर्थिक विकासमा उनीहरूलाई उपयोग गर्नुपर्छ । तबमात्र देशले नवीन ढंगले विकास गर्ने अवसर पाउन सक्छ। आज रोजगारी अभावकै कारण बर्सेनि ४ लाखभन्दा बढी युवा बिदेसिने गरेको तथ्यांकले देखाउँछ।

समष्टिमा भन्नुपर्दा देश विकासमा युवावर्गको महत्त्वपूर्ण भूमिका हुन्छ भने कुरो जगजाहेर छ। इतिहासका पाना पल्टाउँदै जाँदा प्रत्येक देशका सीमारेखाहरू युवावर्गको रगतबाट कोरिएका छन् भने उनीहरूमा विकृति-विसंगति, निराशा र कुण्ठा जागृत हुन् नदिई दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठी राष्ट्रिय स्वार्थमा उनीहरूलाई प्रयोग गर्दा राष्ट्रको कायापलट नै हुन् गएको छ।

देश विकासको गहकिलो कुलतमा बरालिन नदिई उनीहरूलाई जोस र होसका साथ  कम्मर कसेर बढ्नका लागि अनुकूल वातावरण बनाइदिएमा मुलुकको विकासमा युवावर्गले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्दछ, मुलुकको भौतिक विकासमा युवाहरूले अनुकरणीय दृष्टान्त प्रस्तुत गर्न सक्छन्।


 

प्रतिक्रिया

सम्बन्धित खवर