काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक पदाधिकारीको टुंगो नलगाएरै सकिएको छ। पदाधिकारी चयनमा सकस देखिएपछि केन्द्रीय कमिटी बैठकले पनि टुंगो लगाउन सकेन्।
बिहीबारको बैठकको समापनका क्रममा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई केहीदिन समय दिन केन्द्रीय सदस्यलाई आग्रह गरेका थिए।
‘पदाधिकारी चयन गर्न गृहकार्य पुगेन। २–४ दिनको समय दिनुहोस्। सबैको अनुहार उज्यालो हुने गरी पदाधिकारी टुंगो लाग्छ’, प्रचण्डले बैठकमा भने।
बैठकले केन्द्रीय समिति, स्थायी समिति र पोलिटब्यूरो टुंगो लगाएको भन्दै प्रचण्डले केही दिनको समय दिए पदाधिकारी चयन गर्दा पनि सबैको अनुहार उज्यालो हुने बताए। महासचिव र उपमहासचिवको प्रस्ताव तयार भइसकेको भए पनि त्यसमा थप गृहकार्य गर्न आवश्यक रहेको उनले बताए।
‘म अहिले पनि यी नाम पढ्न सक्छु तर, प्लिज मलाई अहिले पढ्न नलगाउनुहोस्’, प्रचण्डले केन्द्रीय सदस्यहरूसँग अनुरोध गरेका छन्। माओवादीको केन्द्रीय कमिटी बैठकले ४१ सदस्यीय स्थायी समिति गठन गरेको छ। यस्तै १२५ पोलिटब्युरो र ३१ वैकल्पिक पोलिटब्युरो केन्द्रीय समितिबाट पारित गरेको छ।
स्थायी समितिमा नेकपाकालका १५ जना समेटिएका छन्। बाँकी सदस्य भने पछि थपिने नेता गिरिराजमणी पोखरेलले जानकारी दिए। उनले पदाधिकारीको टुंगो लगाउने अधिकार अध्यक्षलाई केन्द्रीय कमिटीले दिएको भन्दै त्यसमा पूर्व स्थायी कमिटीका सदस्यहरुले पनि सहयोग गर्ने बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation