टेक्सस- अमेरिकाको टेक्सस राज्यमा बेवारिसे अवस्थामा रहेको एउटा लरीमा कम्तीमा ५० जनाको शव फेला परेको घटनालाई मेक्सिकोका राष्ट्रपतिले 'गरिबीको दुष्चक्रबाट निस्कने तीव्र चाहना' को परिणाम भनेका छन्।
ह्वाइट हाउसले उक्त घटनालाई 'भयानक र हृदयविदारक' भनेको छ। शव भेटिएकामध्ये २२ जना मेक्सिकोका नागरिक भएको पुष्टि गरिएसँगै राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो। मृत्यु हुनेमा सातजना ग्वाटेमाला र दुईजना होन्डुरसका नागरिक भएको पुष्टि भएको छ।
थप पीडितहरू कुन देशका थिए भनेर पत्ता लगाउने काम भइरहेको अधिकारीहरूले बताएका छन्।आफ्नो दैनिक पत्रकार सम्मेलनमा बोल्दै अब्राडोरले उक्त घटनालाई 'अत्यन्त दु:खद' भनेका छन्। उनले आफ्ना नागरिकहरूको शव स्वदेश ल्याउने बताए।
उद्धारकार्यमा संलग्न एक अधिकारीका अनुसार चार बालबालिकासहित १६ जनालाई अस्पताल लगिएको छ। लरीमा जीवित फेला परेका व्यक्तिहरूको शरीर छुँदा तातो थियो। गर्मीका कारण उनीहरूलाई थकान र 'हीट स्ट्रोक' भएको थियो।
सान एन्टोनियो अमेरिका-मेक्सिको सीमाभन्दा २५० किलोमिटर टाढा छ। मानवतस्करहरूले उक्त सहरलाई बाटोका रूपमा प्रयोग गर्दै आएका छन्।
वैधानिक कागजपत्रबिनै अमेरिका प्रवेश गरिसकेका आप्रवासीहरूलाई तस्करहरूले दुर्गम भेगमा भेटेर उनीहरूलाई अन्यत्र लैजान लरी प्रयोग गर्छन्।
'उनीहरूका परिवार थिए... अनि सम्भवतः अझ राम्रो जीवनको खोजीमा थिए,' सान एन्टोनियोका नगरप्रमुख रोन निरेन्बर्गले भने। 'यो एउटा भयानक, मानवीय वियोगभन्दा कम अरू केही हैन।'
एउटा शव फेला परेको सूचना पाएपछि आपत्कालीन सेवाका कर्मचारीहरू साँझ ६ बजेतिर घटनास्थलमा पुगेका थिए। सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा एउटा ठूलो ट्रकको वरिपरि आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्थ्यो।
सन् २०१७ मा उस्तै खालको गाडीमा सहरको दक्षिणी भागमा अवस्थित वालमार्टबाहिर १० जनाको शव भेटिएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation