१९ असोज २०७९, बुधबार

अग्नि महाकाव्यका बारेमा नवराज लम्साललाई दश टिप्पणी र पाँच प्रश्न !

  • ४ असार २०७९, शनिबार
Image

काठमाडौं- नवराज लम्साल यो नयाँ र नसुनिएको नाम होइन तर जति नजिक भयो, त्यति नै अद्भूत लाग्छ नवराज लम्सालको जीवन गाथा र स्वभाव। एकोहोरो चिनाइमा डेढ दशक र सीधा सम्पर्कमा दशक बित्यो सम्पर्कको तर उनीभित्रको धैर्य र संयमको गहिराइ अझै नापेको वा नाप्न सकेको छैन।

कहिले काहीँ त उनी कुन धातुले बनेका होलान् जस्तो पनि लाग्छ। उनी लाख प्रहारलाई हाँसेर सहिदिन्छन्। नजिकबाट उनको सहनशीलता देख्नेलाई त्यही सहनशीलताले दुखाउँछ। गत वर्ष उनको अग्नि महाकाव्य आयो। २० वर्षको मेहनतसँगै आयो । त्यसलाई एकसरो पढेँ। केही हरफहरु फेसबुकमा शेयर गरेँ पनि।

अन्तर्वार्ता गरूँ कि, आफूलाई लागेको कुरा लेखूँजस्तो भइरह्यो लामो समय। एउटा अन्तर्वार्ता गर्ने मन थियो भनेँ पनि तर उनले खिसिक्क हाँसेर टारे। शायद यो केटाले के अन्तर्वार्ता गर्ला र? भनेर टारेको हो किजस्तो पनि लाग्यो। तर योहो टिभीको अक्षर कार्यक्रममा गरेको अन्तर्वार्तामा भने उनी खुसी थिए। केही लेख्न खोजेँ र लेख्छुभन्दा भन्दै ढिला भयो। पछि अग्निको बारेमा यति धेरै समीक्षा समालोचना आए कि त्यो हारमा के लेखूँजस्तो पनि भयो।


सबै सबै समीक्षा समालोचना पढेँ र कान्तिपुर दैनिकमा डा. लम्सालकै पुस्तक विषयक अन्तर्वार्ता पढेँ। उनीमाथि अरुले लेखेको र लेखनका वियामा उनले नै भनेको कुरा आपसमा दाँजेर हेरेँ। उनी लेख्नका लागि मात्र लेख्ने प्राणी होइनन् भन्ने लाग्यो । लेखनमा उनको दृष्टिकोण प्रस्ट छ। कर्ण सीमान्तकृत पात्र, धरा देशको बहुलता र अग्नि युगको आवाज।

अन्ततः अन्तर्वार्ता नै गरेँ, त्यो पनि लिखित। उनीसँग गरिएको अन्तर्वार्ताभन्दा पहिले अग्निका बारेमा लेखिएका अनेकौँ समालोचना समीक्षा मध्ये दश जनाको टिप्पणी कस्तो रहेछ हेरौँ । ती दश यस्ता छन् :

१. त्रि.वि.का प्राध्यापक डा.अशोक थापाले साहित्यपोष्टमा लेखे- ‘अग्नि’को सोझो अर्थ आगो भन्ने हुन्छ। आगोको प्रतीकात्मक अर्थ जीवन हो। अस्तित्व हो। व्यञ्जनार्थमा अग्नि भनेको आरन हो जहाँ सभ्यताका छापहरू मङ्गलदीप बनेर धिप्धिपाउनु पर्ने हो। अग्नि भनेको जलन, दहनमात्र होइन बरु पवित्र ज्वाला पनि हो तर अपशोच हिजोदेखि आजपर्यन्त आरन अपवित्र बनेको छ। अछुत बनेको छ।

आरन चलाएर ग्रामीण प्रविधि सिकाउने, शिल्पकारिता सिकाउने, सभ्यता सिकाउने, मूर्ति कुँद्ने ठूले कामीहरू र उनका सन्तान दरसन्तान छेलाङीहरू आज पनि किन छिःछिः र दूःरदूःरको व्यवहारबाट दुत्कारिन अभिशप्त छन् ? यस्तै भीमकाय प्रश्नहरूको आख्यानीकरण र दलितको विषयमा लेखिएको महाकाव्य हो ‘अग्नि’ ।

२. चर्चित समालोचक महेश पौड्यालले नयाँ पत्रिकामा लेखे- काव्यको जटिल शास्त्रीयतालाई युगसापेक्ष बनाउँदै उनी काव्यमा गद्य शैली अपनाउने, धीरुदात्त नायकको ठाउँमा आममान्छे, विशेष गरी पछाडि पारिएको पात्रलाई उभ्याउने तथा अतिशयोक्तिपूर्ण वर्णनभन्दा सटिक र यथार्थवादी वर्णनलाई अपनाउने आधुनिक काव्यकार हुन्।

३. कवि नवीन अभिलाषीले इकागजमा लेखे-अग्नि सीमित सिद्धान्त, वाद वा कुनै पद्धतिभन्दा धेरै उचाइबाट संयोजन गरिएको छ। न दलित हुनुमा कतै हीनताबोध छ, न त ब्राह्मणलाई उछितो काढिएको छ । महाकाव्य पढ्दै गर्दा बारम्बार नवराज लम्सालको थर त याद आउछ, तर ‘अग्नि’ प्रवेशमा उनले मान्छे हुन रोकेको दिन जातीय कोट फुकाल्न गरेको प्रतिबद्धताले मन तान्छ। यो महाकाव्य दलित इतिहासको पहिलो पाइला हो। अनुसन्धानका लागि फेरको धागो फुस्किएको स्वीटर हो, अब खोल्दै खोल्दै जान सकिन्छ। घर बसेको चोयाको एक पोयो हो, अब डोकै बुन्न सकिन्छ । एक सुरुवात हो, अब लुकेका–लुकाइएका, दबेका–दबाइएका, छिपेका–छिपाइएका रहस्योद्घाटन गर्न सकिन्छ ।  

४. मदन पुरस्कार प्राप्त कवि तथा वरिष्ठ गीतकार दिनेश अधिकारीले स्टाटसै लेखे :

मसिनो कथा समातेर गहकिलो  विचार र भावनाको उच्च उडान भरेको  डा. नवराज  लम्सालको महाकाव्य “अग्नि” नेपाली साहित्यका लागि एउटा गहन उपहार हो। अभिव्यक्तिमा पाइने रहरलाग्दो प्रवाह, मेरो लागि, आकर्षणको अर्को पक्ष रह्यो। आरनका माध्यमबाट एकैसाथ सामाजिक सद्भाव, समानता र मानवताको शङ्खघोष गर्ने कविलाई मेरो हार्दिक  बधाई छ।

५. शिक्षकसमेत रहेका समीक्षक कृष्ण दाहालले फेसबुकमै लेखे – 

नेपाली साहित्यमा आएको एउटा जिउँदो तथा परिवर्तनगामी कृति हो ; ’अग्नि’ महाकाव्य। नेपाली समाज, राजनीति र इतिहासमाथि टेकेर लेखिएको यति सशक्त कृति नेपाली साहित्यको सम्भवतः पहिलो कृति भन्नेमा सायदै कसैको विमति रहला । नेपालका शासक, राजनीतिज्ञ, क्रान्तिवीर, अनुसन्धान कर्ता, समालोचक, विश्लेषक, चिन्तक आदि आदि सबै एकसाथ उभिएर बोल्न, भन्न र लेख्न नसकेको/नभ्याएको विषयमा एउटा लेखकले यति सहजै नेपाली समाज, शासक वा राज्य व्यवस्थालाई बुझाउन कसरी सम्भव भएको होला भन्ने भव्य कौतुहल अग्नि महाकाव्यको प्रमुख विशेषता हो।

६. समीक्षक कविराज सुवेदीले लेखे- कलुषित, पूर्वाग्रही ,अमानवीय मूल्यमान्यता र परम्परा बिरुद्धको ’मुर्दाबाद !!’ हो अग्नि । तपाईं समाज बुझ्न चाहानुहुन्छ वा समाजवादी बन्न चाहानुहुन्छ भने अग्निलाई नवराज घोषणापत्र मान्दा पनि हुन्छ।

७. पत्रकार तथा समीक्षक दीपक न्यौपानेले लेखेका छन्- देवीदेवता राख्ने थाली बनाउने, पाञ्चायन पुुुज्नुअघि सुरुमा दीप, कलश पूजन गरिन्छ । ती दियो र कलश बनाउने कामी किन अछूत हुने ? समाज उत्तर देऊ, उपल्लो जाति उत्तर देऊ ‘अग्नि’ मा नवराज लम्सालले उत्तर मागिरहेका छन्। दलितहरु वर्षौँदेखि समाजसँग लडेर समाजकै लागि बाँचेका उच्च छाती भएका व्यक्ति भएको उनको ठम्याइ छ। 

८. शिक्षकसमेत रहेका कवि गणेश नेपाली लेख्छन्– पढ्दै गर्दा नेपाली समाजको स्वरुप र त्यस भित्र मान्छे कसरी बाचेको थियो, कसरी बाच्न विवश छ ती पक्षहरूलाई एक सिपालु कालीगढको जीवनका साह्रै उपलब्धिपूर्ण र गौरवपूर्ण समय र सिपको कसरी अवमूल्यन र अवहेलना गरियो कवि स्वयम् महाकाव्यमा पात्र बनेर अभिव्यक्त भएका छन ।

९. पत्रकार तथा सामाजिक अभियन्ता चन्द्रकान्त पौडेल लेख्छन्– अग्नि महाकाव्य वेद पुराणको सार बोकेको उच्च चेतनाको ग्रन्थ हो। ...करोडौँ शब्द, असङ्ख्य ग्रन्थ, हजारौँ मन्त्र, लाखौँ श्लोक यी सबै उल्था गरेर पढ्नुभन्दा यस सागरमा हाम फालेर पौडिनुको मज्जा बेग्लै हुने छ । यो पुरातन कालको सभ्यता हो जसको कुनै एक्स्पायर डेट नै छैन। यो कहिले नरोकिने गाडी हो। कुरीतिको चिरफार गर्न पनि यसको पूर्ण अध्ययन गर्न जरुरी छ।

१०. बाह्रखरीका नरेश फुयालले लेखे– उनले जब लेख्न थाले ‘अग्नि’का पंक्तिहरू। कथा विश्वकर्मा (कामी)को थियो। कथा फलाम र आरनको थियो । त्यसैले उनले आरनबाटै देश चियाउने चेष्टा गरे। बार्दलीबाट तल हेरेर विचरा दलित, मधेसी, गरिब, जनजाति र विचरा महिला भनेर राज्यसत्ताले भनिरहेका बेला ‘अग्नि’मार्फत नवराजले आरनबाट देश हेरे। आरनबाट देशको कथा र व्यथा बोले। आरनको आँखाबाट देशको यर्थाथ उदांगो पारिदिए। समग्रमा आरनबाट देशको इतिहास, धर्म, परम्परा, संस्कृति, संस्कार र समग्र राज्यसत्ता सञ्चालन कस्तो देखिँदो रहेछ हेर्ने प्रयास गरे ।

यसरी धेरैले लेखे। धेरै लेखियो। २०७८ मा प्रकाशित पुस्तकहरुमध्ये सबभन्दा बढी टिपोट,टिप्पणी र समीक्षा, समालोचना अग्निकै आए होलान्। अरु पनि छन् मेरा टिपोटमा तर अहिलेलाई यही दश बुँदामात्रै उल्लेख गरेँ।

यी सबै पढिसक्ता नसक्तै पुस्तकवार्ता क्रममा कवि लम्साल आफैँले कान्तिपुर दैनिकसँग भनेँ– “पढ्नैका लागि पढिने एउटा पुस्तक दोकानमा राखिएका कुनै वस्तुका स्पेयर पार्टजस्ता मात्र हुन्, कारखाना होइनन् । पुरानो मोह भन्नुस् वा धरातलको खोजी नेपाली साहित्य हुनुको जगमा केही विशेषता छन्, तिनलाई गहिरिएर बुझ्नु जरुरी छ। धार्मिकजस्ता लाग्ने वेद, गीताजस्ता सनातनी ग्रन्थहरूका अतिरिक्त किरात, मैथिली, बौद्ध, उपत्यकाको नेवारी र तराई, पहाड, हिमालतिरका जनजाति संस्कृतिको मिथ र तिनका विस्तृति नबुझी नेपाली समाजै बुझिन्न । समाज नै नबुझी कसरी बुझिन्छ सामाजिक मनोविज्ञान ?”

पाठकहरुलाई लाग्ला मलाई यति धेरै खोजी र चासो किन ? किन भने नवराज लम्साल हाम्रो पुस्ताको आदर्श दाजु हो। ऊ लोभभन्दा माथि छ, ईर्ष्या भन्दा माथि छ, सीमान्तकृत जनता र युवा पुस्तालाई माया गर्छ, ऊ प्रस्ट छ र खुलस्त छ। म डोटीबाट शहर आएको मान्छे। मैले पहिलो पटक भेटेको दिन उनी प्रिय लागेका थिए। दशौँ वर्षपछि पनि उत्तिकै प्रिय छन्।

उनको रेडियो कर्म, लेखन र व्यवहार युवामैत्री छ। चिन्तन गहिरो छ, व्यवहार फराक। उनलाई उनकै सहकर्मीहरुले गरेको अन्याय देखेको छु। उनी नेपाली लेखक संघको अध्यक्ष निर्वाचित हुँदा म उनीसँगै केन्द्रीय सदस्य निर्वाचित भएको थिएँ । चार महिनामा उनले गरेको दर्जन कार्यक्रम, केन्द्रमा खोलेको केन्द्रीय कार्यालय र आत्मसम्मानमा ठेस पुग्ने भएपछि दिएको राजीनामाको साक्षी हुँ म ।

मैले टिभीमा ३० शृंखला कार्यक्रम गर्दा वा रेडियोको शैक्षिक बहसमा लामो यात्रा गर्दा नजिकबाट चिन्ने मौका पाएँ। निरन्तर शनिबार कार्यक्रममा उनी दुई पटक  आए। पहिलो पल्ट प्रत्यक्ष उनको कुरा त्यहीँ सुनेको हुँ । तिनताका उनी बीबीसीमा कार्यरत थिए। २०७२ को भूकम्प र कोरोना कालमा उनले निर्वाह गरेको पत्रकार भूमिकाको साक्षी हुँ।

उनका धेरथोर पारिवारिक सन्दर्भ, क्षमता, उनलाई उच्च राजनैतिक नेतृत्वले गर्ने सम्मान र नेतृत्वभन्दा टाढा एकन्तमा बसेर लामो सास तानेर जीवनलाई सहज बनाउने उनको तरिका नजिकबाट बुझेको छु। कर्ण पढेको छु, धरा पढेको छु। उनीसँगै देशका धेरै ठाउँका साहित्यिक कार्यक्रमहरुमा पुगेको छु र भुइँमान्छेहरुले उनलाई गर्ने माया र अपनत्व नजिकबाट बोध गरेको छु । तसर्थ उनका बारेमा लेखिएका अधिकांश कुराको हेक्का गरेको हुँ।

माथिका टिप्पणीहरु पढेपछि केही लेख्न खोज्दै थिएँ । त्यही बेला मैले ५ वटा प्रश्न मेसेन्जरमा पठादिएँ । यस पटक उनी शान्त भावमा थिए वा प्रश्न मन पराए ? केही भन्न मन थियो वा केटाले पठाएछ, लेखूँ न त भने थाहा भएन । उनले पनि मेसेन्जरमै जवाफ फर्काएछन् । मैले प्रश्न पठाएको छु पनि भनिनँ उनले उत्तर पठाइदिएको छु पनि भनेनन् । रेडियो नेपालको आँगनमा दुवै खिस्स हाँस्यौँ सकियो।

अन्तर्वार्ता मात्रै छापेको भए पनि हुन्थ्यो तर केही लेख्न खोज्नुको मेरो रहर र प्रश्नहरुको उत्तरलाई जोडेर यो सामग्री तयार पारेँ । डा. नवराज लम्सालसँग उत्तर खोजेका मेरा प्रश्नहरु यस्ता थिए :

१. कर्ण र धराको तुलनामा अग्निको चर्चा निकै धेरै भयो। तेस्रो प्रयासमा पाठकको ध्यान महाकाव्यतिर खिच्न सफल हुनुभयो । तपाईँ पाठक तान्न सफल हुनुभएको हो कि अग्नि आफैँ पाठक तान्न सफल महाकाव्य हो ?

दुवै हो। लेखिएको र प्रचारप्रसार भएको आधारमा भन्ने हो भने कर्ण र धराको तुलनामा अग्निको धेरै चर्चा भयो । धेरै समीक्षा, समालोचना भए । धेरै युवाले पढे, धेरै त युवाले नै लेखे । मिडियाले खूब माया गर्‍यो यसपल्ट। आउन त कर्णको पनि तेस्रो संस्करण आइसकेको छ। धराको दोस्रो संस्करणको तयारीमा छु तर अग्निले शुरुदेखि नै माया पायो, सोचेभन्दा बढी माया।

यसमा विषय पनि नयाँ र शैली पनि केही नयाँ प्रयोग गर्ने कोशिश गरेको छु । सरल गद्यमा छ । सबैलाई सहज हुने र सबैलाई सुगम्य, बोधगम्य हुने गरी कथा बगाएको छु । त्यसैले पनि होला । पाठकको हातमा सुम्पेपछि जे हुन्छ त्यहीँबाट हुन्छ। 

२. इतिहास पढेपछि अग्नि बुझिन्छ कि अग्नि पढेपछि इतिहास बुझिन्छ ? 

इतिहास अपूर्ण भयो भन्ने दावा हो यो। इतिहास निर्माताकै इतिहास नभएको इतिहास के इतिहास ? ठूले कामीको कथा। छेलाङीको कथा । जुनीमायाको कथा। जेठी तरबार बनेको कथा। मकवानपुरबाट त्यो तरबार गोरखा पुगेको कथा। त्यही तरबारले नुवाकोट युद्ध जितेको कथा।

युद्धको खुकुरी बनाउने कहाँ छ ? खुँडा बनाउने, तरबार बनाउने कहाँ छ ? पृथ्वीनारायण शाहलाई खुकुरी बनाइदिने जसवीर कामी कहाँ छ ? गोरखाली फौजलाई ३ बजे राती त्रिशुली नदी तार्ने जलेवा माझी कहाँ छ ? 

विश्कर्माका ५ सन्तान । मनु, मय, त्वष्टा, शिल्पी र दैवज्ञ । मनुले फालमको काम गरे । मयले काठ खोपे । तोष्टाले तामा, शिल्पीले मूर्ति कला र दैवज्ञले स्वर्णधातुको काम गरे । त्यो ऋषि परम्परा, शिल्प परम्परा र कला परम्परा कसरी अछूत भयो ? सानग गोत्र हो विश्वकर्माको । यो गोत्र प्रवर्तक ऋषिहरु हुन् – सानग, सनातन, अहमन, प्रत्न र सुपर्ण । के यी ऋषिहरु पनि अछूत हुन् त ?

माझी पुत्रीको कोखबाट जन्मेर वेद लेख्ने व्यासको जात के हो ? बाल्मीकि हुनुअघि तथाकथित शुद्र थिए रत्नाकर, विश्वामित्र ऋषि अधिरथ क्षेत्री थिए । नारद ऋषि पिता थाहा नभएका, ऋषि आश्रमकी एक सेविकाबाट जन्मेका थिए । उनको जात के हो ? रामले जुठो बयर खाएको शवरी आमैको जात के हो ? अश्विनीकुमार घोडाबाट जन्मेका थिए भनिन्छ, उनको जात के हो ? उनले स्वर्गको यज्ञ सम्पन्न गरेका थिए। गुण र कर्मका आधारमा मैले चार जात सृष्टि गरेको हुँ भन्ने कृष्णभन्दा जान्ने भएर जातलाई जन्मजात बनाउने महापण्डित को होलान् ? यी सबै सन्दर्भ बुझेर इतिहास पढ्दा नयाँ बोध हुन्छ शायद।

३. पूर्वीय दर्शन, समाजशास्त्रीय अध्ययन र इतिहासको पुनर्लेखनको आग्रहआदि छ, भन्नु हुन्थ्यो तर आम बुझाइमा त छुवाछुत र जातिपातीका विरुद्ध लेखिएको काव्य हो भन्ने मात्रै छ नि बजारमा ?

आआफ्नै बुझाइलाई सलाम छ । १२ कक्षाका भाइबहिनीले ठूले कामीको कथामात्रै बुझे पुग्छ । एम.ए. एमफिलमा थेसिस गर्नेले समाजशास्त्रीय ढङ्गले यसको अर्थ बोध गर्लान् । उपल्लो आध्यात्मिक वा चिन्तकहरुले षडचक्रसँग जोडेर बुझ्लान् र व्याख्या गर्लान् ।

समाजमा चलेका दुई शब्द पहिचान र मुक्ति । पहिचान र मुक्तिको भेट एकै ठाउँमा हुन्न । पहिचान मूलाधार हो । त्यसपछिका स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध र आज्ञा चक्रका चरण पार गरेपछि मात्र सहस्रार चक्रमा पुगिन्छ र मुक्ति संभव छ । समाजको कुरा पनि ठीक त्यही र त्यस्तै हो । पहिले पहिचान र अस्तित्व, त्यसपछि क्रमशः उत्पादन र आविष्कार, आत्मसम्मान, शान्ति, आत्मअभिव्यक्ति, ठीकबेठीकको निक्र्योल गर्ने सत्यबोध र प्रतिकूलतालाई अनुकूलतामा ल्याउन सक्ने सामर्थ्य। यी सबै भएपछि बल्ल मुक्ति मिल्छ । षडचक्रजस्तै समाज विकासका पनि चक्र छन्।

गर्नु पर्ने धेरै छन् तर हामी छुवाछुतमा छौँ । अमानवीय व्यवहारमा छौँ । ढुङ्गे युगमा छौँ । जातकै आधारमा मारिने, काटिने, कुटिने र लखेटिने अवस्थामा छौँ । आँखै अगाडिको समस्या भएर सबैले पहिले त्यसैलाई बुझे होलान्, त्यही बोध गरे होलान् । मानव मर्यादाको मूल्य बुझ्नु झन् राम्रो भो त । त्यसबाट पनि खुसीछु ।

४. जून समुदायलाई आधार बनाएर महाकाब्य लेख्नु भो त्यो समुदायसम्म अग्नि पुग्यो त ?

यो प्रश्न पढेर मन हल्लेको छ । स्कुल स्कुल र कलेज कलेजमा पुर्‍याउन पाए हुन्थ्यो भन्ने लोगेको छ तर हर कुराको सीमा हुँदोरहेछ। धेरै ठाउँमा पुगेको पनि छ तर सोचे जति वा चाहे जतिचाहिँ अलि भएको छैन । प्रकाशन संस्था बुक हिलले यसलाई पुस्तकमात्रै नभएर आन्दोलन पनि भनेको छ र ऊ पनि लागिपरेको छ। सचेत युवाहरु आफैँले खोजीखोजी लगेका पनि छन् । अमेरिका रहेका केही उत्सुक मित्रहरुले उहीँ नै विमोचन पनि गरे। अष्ट्रेलियामा पनि साथीहरुले सानो सानो कार्यक्रम नै गरे ।

सन्देश सबैतिर राम्ररी पुगेको छ । पुस्तक पनि गएको पनि छ र बिस्तारै जाँदै पनि छ। 

वर्षौँदेखिको दाग मेट्न समय लाग्दो रहेछ । बाहिर जति सुकिलो र उज्यालो देखिएको छ यो समाज, यसको भित्र त्यो भन्दा बढी कालो र अँध्यारो रहेछ । म त्यही अँध्यारोमा एक काँटी सलाई बोकेर उभिइरहेको छु कि जस्तो पनि लाग्छ । राती जाडो भयो भन्दैन बिहानी नभई घाम झुल्कँदो रहेनछ ।

५. अग्निमा प्रेमको परिभाषा कुन कोणबाट गरिएको छ ?

के सोचेर सोधिएको प्रश्न हो यो थाहा छैन मलाई तर अग्नि शरीर र वासना भोगभन्दा माथिको काव्य हो । संस्कृति प्रेम, संस्कृतिको उज्यालो पक्षको प्रेम, मानव प्रेम, मानव मर्यादाको प्रेम, कर्मको प्रेम, मर्मको प्रेम, धर्मको प्रेम, विश्वासको प्रेम।

कति कुरा आदर्शजस्तो देखिएला तर एउटा मान्छेले अर्को मान्छेलाई सप्रेम छुन नपाउने, सँगै बस्न नपाउने, सँगै खान नपाउने, सँगै पर्व उत्सव मनाउन नपाउने, हिँड्न, डुल्न र हृदय साट्न नमिल्ने समाजमा कुन र कस्तो प्रेमको कुरा गर्ने? 

युद्ध लड्न खुकुरी दिनेको इतिहास छैन युद्धइतिहासमा । शिल्पले समाज सजाउने शिल्पीको इतिहास छैन सामाजिक इतिहासमा । मान्छे पौरखले, ज्ञानले र क्षमताले होइन जन्मले महान्  हुने समाजमा म कुन प्रेमको कुरा गरौँ ?

तपाईँले जुनीमाया र छेलाङीको प्रेम भनेको भए, इन्द्रकुमारी र पृथिवीनारायणको प्रेम भनेको भए र कविले आरनप्रति गरेको प्रेमको कुरा गरेको भए एक पटक फेरि अग्नि पढ्नुस् न ल।


प्रतिक्रिया

सम्बन्धित खवर