८ कार्तिक २०८३, शनिबार

'बलात्कृत' युवती २१ महिने बच्चासहित माइतीघरमा आमरण अनसन

  • २८ जेठ २०७९, शनिबार
Image
प्रतिकात्मक तस्बिर।

काठमाडौं- धनुषाकी एक युवती बलात्कारबाट जन्मिएको २१ महिने बच्चासहित माइतीघर मण्डलामा आमरण अनसनमा छन्। जिल्ला अदालत धनुषाले आरोपितलाई कसुरबाट सफाइ दिएपछि मुद्दा उच्च अदालत धनुषामा पुगेको र उच्चले चार महिना बित्दासमेत पेसीसम्म नचढाएपछि बलात्कारबाट जन्मिएको बच्चासहित ती युवती अनशनमा बसेकी हुन्। 

पीडितले प्रहरीमा दिएको जाहेरीअनुसार २०७६ कात्तिक ५ गते साँझ ६ बजे धनुषाकै उशिवराज श्रेष्ठले ती युवतीलाई बन्धक बनाएर बलात्कार गरे। 

अदालतमा गरेको बकपत्रअनुसार उनी राजर्षी कलेजमा ११ कक्षामा पढ्दाखेरी मोडल कलेजमा पढ्ने श्रेष्ठसँग चिनजान भयो। त्यसपछि श्रेष्ठले युवतीलाई माया गर्छु भन्दै पछ्याउन थाले। श्रेष्ठले यौन सम्बन्ध रोखेका फोटो तथा भिडियो खिचेको भन्दै कसैलाई भनेमा सार्वजनिक गरिदिने धम्की दिए। काठमाडौं पुर्‍याएर समेत यौन सम्बन्ध राखेको युवतीले बताएकी छन् ।

गर्भवती बनेकी युवतीलाई पछि श्रेष्ठले गर्भपतन गर्न दबाब दिएको अभियोगपत्र र अदातलमा पीडित युवतीले दिएको बयानमा उल्लेख छ। गर्भपतन गराउन नमानेपछि भने श्रेष्ठले उक्त बच्चा आफ्नो नभएको बताउन थाले। ‘त्यसपछि मैले श्रेष्ठको आमाबुबालाई फोन गरी भन्दा आमा बुबाले पनि मलाई गर्भपतन गराउन अनि म आफ्नो छोरासँग विवाह गराइदिन्छु भने,’ युवतीले अदालतमा गरेको बकपत्रमा भनेकी छन्।

युवतीले श्रेष्ठविरुद्ध १९ फागुन ०७६ मा जोहेरी दिइन्। त्यसअघि जिल्ला प्रहरी कार्यालयमा दुईवटा निवेदन दिएकी थिइन्। १९ माघ ०७६ मा ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाउँ’ भन्दै र त्यसको एक महिनापछि ११ फागुनमा ‘हक अधिकार दिलाई पाउँ’ भन्दै । यी दुवै निवेदनमा श्रेष्ठ र युवती श्रमान्‌-श्रीमती लेखाएको जिल्ला अदालत धनुषाले गरेको फैसलाको पूर्ण पाठमा छ।

युवतीले भदौ ०७७ मा छोरा जन्माइकी थिइन्।

प्रहरीमा जाहेरी पर्नसाथै श्रेष्ठ भने फरार भए। प्रहरीले श्रेष्ठ फरार रहेकै अवस्थामा अदालतमा मुद्दा दर्ता गराएको थियो। २३ पुस ०७७ मा अदालतले श्रेष्ठको नाममा ३५ दिने पक्राउ पुर्जी जारी भयो। तर, उनले उक्त म्याद गुजारेपछि अदालतमा हाजिर भए। अदालतमा श्रेष्ठले युवतीसँग आफ्नो चिनजान नभएको बताए। युवतीले ट्याटु मेटाउन पैसा मागेको र आफूले नदिँदा त्यस्तो आरोप लगाएको श्रेष्ठले अदालतमा जिकिर गरेका छन्।

अनशनरत युवतीले आरोपित र बलात्कारबाट जन्मिएको बच्चाको डीएनए परीक्षण गर्नुपर्ने माग पनि राखेकी छिन्। उच्च अदालतमा परेको पुनरावेदन विचाराधीन छ।

पीडित युवतीले प्रहरीमा दिएको जाहेरी र अदालतमा गरेकको बकपत्र फरक परेको, जाहेरी दिनुपूर्व प्रहरीमा दिएको निवेदनमा पीडित र अभियुक्तको परिचय श्रीमान्‌-श्रीमती रहेको, जबर्जस्ती करणी हुँदा युवतीले प्रतिवाद गरेको नदेखिएकोले आपसी मञ्जुरीमै यौन सम्बन्ध राखेको निचोडमा जिल्ला अदालतको फैसलाको पूर्ण पाठमा छ। अदालतले युवती र अभियुक्तको सम्बन्ध र युवतीबाट जन्मिएको बच्चाको हकमा छुट्टै कानुनी उपचारबाट सम्बोधन गर्न सकिने पनि बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर