लोक कलम सम्वाददाता,
काठमाडौँ, २७ जेठ ।
काठमाडौँ महानगरमा लामो समयदेखि थुप्रिएको फोहोरको थुप्रो शनिबार रातिदेखि उठाइएको छ ।
महानगरको फोहोरलाई व्यवस्थित विर्सजनको लागि बारम्बार सहमति हुने गरे पनि फोहोर विश्रामस्थल बञ्चरेडाँडाका स्थानीयबासीहरुले सहमति कायम गर्ने कुरामा सरकारी पक्षबाट तद्रुकता नदेखाएको भन्दै अवरोध खडा गरेका थिए ।
शुक्रबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको उपस्थितिमा भएको सहमति कार्यान्वयन गर्न स्थानीय तह सफल नभएपछि मन्त्री झाँक्रीले सरकारले बल प्रयोग गरेर भए पनि फोहोर बिर्सजन गर्ने दाबी गर्दै आएकी थिइन् ।
अर्कोतर्फ सिंहदरबारभित्र बसेर सहमति मान्न आफूहरु बाध्य नभएको र फोहोर बिर्सजन गर्नमा बल प्रयोग गरे गोली खान तयार भएको भन्दै स्थानीयहरु टसको मस भएका थिएनन् ।
प्रधानमन्त्री देउवाले पनि त्यहाँका स्थानीयहरुलाई बोलाएर उनीहरुको समस्या समाधानका लागि प्रतिबद्धता जनाए । त्यसैगरी प्रधानमन्त्री देउवाले मेयर बालेन्द्र साहलाई पनि स्थानीयसँग गैरजिम्मेवार अभिव्यक्ति नदिन र स्थानीयका जायज मागहरु सम्बोधन गरेर अघि बढ्न आग्रह गरे।
उनीहरुका मागहरु सम्बोधन हुने किसिमले नयाँ सहमति गरेर अघि बढ्न प्रधानमन्त्री देउवाले दुबै पक्षलाई आग्रह गरेपछि बिहीबार मध्यराति १८ बुँदे सहमति भयो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र महानगरबीचको सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ।
स्थानीयबासीका लागि महानगरले नियमित बजेट छुट्टाउनुपर्ने देखि पूर्वाधार निर्माणसम्मको सहमति भएको छ। समयसीमा तोकेर कुन काम कतिबेला गरिसक्ने भन्ने पनि सहमतिमा उल्लेख छ। सहमति पत्रमा महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, ककनी गाउँपालिका–१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा २ का वडाध्यक्ष तिलकबहादुर लामा, धुनिवेंसी गाउँपालिका – १ वडाध्यक्ष मानबहादुर तामाङ र ३ का वडाध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन्।
यसअघि पनि सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको उपस्थितिमा फोहोर उठाउने सहमति भएको थियो । तर, स्थानीयहरुले आफूलाई विश्वास नभएको बताउँदै फोहोर बिर्सजनका लागि अवरोध गरेका थिए। प्रधानमन्त्री देउवासँगको भेटमा उनीहरु आश्वस्त भएका हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation