१८ मंसिर २०७९, आइतबार

बिदा अस्वीकृत भएपछि विश्‍वराजको अबको बाटो?

  • २६ जेठ २०७९, बिहिबार
Image

काठमाडौं-  नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहविरुद्ध मुद्दा हालेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको बिदा अस्वीकृत भएको छ। आईजीपी सिंहले उक्त बिदा अस्वीकृत गरिदिए पनि पोखरेलले भने खटाइएको स्थानमा हाजिर नहुने अडान लिएका छन्। 

एआईजी पोखरेलले आफ्ना सहयोगीमार्फत मंगलवार १० दिनको बिदाका लागि प्रहरी प्रधान कार्यालयलाई निवेदन पठाएका थिए। उनको बिदा अस्वीकृत भएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिएका छन्। पोखरेल यसअघि वैशाख १९ गतेदेखि बिदा बसिरहेका छन्। 

पोखरेल बिदामा छँदै सरकारले उनलाई सरुवा गरिसकेको छ। यसअघि महत्वपूर्ण मानिने मानव स्रोत विभागमा कार्यरत पोखरेललाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ।

पोखरेलले भने कानुनी लडाईंका लागि माग गरेको थप १० दिनको बिदा अस्वीकृत भएसँगै उनले हाजिर नहुने बताएका हुन्। एआईजी पोखरेलका एक कानुनी सल्लाहकारले आईजीपीले बिदा अस्वीकृत गरे पनि प्रहरी मुख्यालय वा खटाइएको स्थानमा हाजिर नहुने बताए। पोखरेलको भनाई उदृद गर्दै ती सल्लाहकारले भने, ‘जसकाविरुद्ध मुद्दा हालिएको हो र जेका लागि मुद्दा हालिएको हो, त्यसको निरुपण नै भएको छैन। जबसम्म अदालतबाट त्यसको निरुपण हुँदैन, हाजिर हुने कुरा न आउँदैन।’

पोखरेलका कानुनी सल्लाहकारले भने, ‘मुद्दाको पेसी आगामी जेठ ३० गतेका लागि तोकिएको छ। उक्त दिन अदालतले फैसला गर्ने अपेक्षा गरेका छौँ, त्यसपछि के गर्ने भन्ने सम्बन्धमा कुरा गरौंला। तर अहिले प्रहरी महानिरीक्षक नियुक्तिकै विरुद्ध मुद्दा हालिएको र जुनियर एआईजीलाई आइजीपी बनाएको भनेर मुद्दा हालेपछि फेरि उहाँले निर्देशन दिँदैमा हाजिर भइहाल्ने भन्‍ने हुँदैन। उहाँ हाजिर हुन जानुहुन्न, अदालतबाट अन्तिम किनारा लागेपछि के गर्ने भन्ने हो।’

प्रहरी महानिरीक्षक सिंहले तत्काल हाजिर हुन निर्देशन दिएपछि हाजिर नभएमा उनीमाथि स्पष्टीकरण सोधी विभागीय कारबाहीसम्म गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई रहन्छ। यस विषयमा समेत पोखरेलले परामर्श लिइसकेको बताइएको छ।

पोखरेलको मुद्दा अबको ५ दिनमा नै पेसीमा चढी फैसला आउने अपेक्षा गरिएको कारण त्यस अगावै स्पष्टीकरण सोधी कारवाही गर्नसक्ने सम्भावना भने निकै कम छ।

सर्वोच्चमा उनले आफैं आईजीपी हुनुपर्ने माग छ। अदालतको अर्को पेशी जेठ ३० गतेलाई तोकिएको छ। तर, त्यो दिन पनि सुनुवाइ हुने निश्चित छैन। त्यसो भएमा अर्को १५ दिन रिटको टुंगो नलाग्न सक्छ। रिटको सुनुवाइ पछि धकेलिँदै जाँदा विश्वराज भने थप समस्यामा परेका हुन्।

प्रहरीका एक एआईजी भन्छन्, ‘उहाँले सरकारको निर्णय नमान्‍ने हो भने भोलि थप समस्यामा पर्न सक्नुहुन्छ। हाम्रो संगठनमा बिदा भनेको अधिकार होइन। बिदा स्वीकृत गराइसकेपछि पनि संगठनले बोलायो भने जानैपर्छ।’

तर, विश्वराज ३६ दिन बिदा बसे। देशभर प्रहरीलाई प्रसुती बिदा र किरिया विदा बाहेक बिदा नलिन सर्कुलर हुँदा पनि उनी विदामा थिए। 

अब विश्वराज सामु हाजिर हुँदै मुद्दा लड्ने विकल्प थियो, उनले त्यसको प्रयोग गरेनन् र राजीनामा दिने मुडमा पनि छैनन्। बिदा बस्‍ने र मुद्दा लड्न‍े भन्‍ने कुरा त्यति उपयुक्त नभएको एक पूर्वएआईजी बताउँछन्। ‘यो त उनको व्यक्तिगत कुरा मात्रै होइन, फौजको नियमको कुरा पनि हो। भोलि विश्वराजले नियम तोडे भने अरुलाई पनि नजिर बन्छ। सरकारले निर्णय गरिसकेको छ। सर्वोच्चमा रिट परिसकेपछि पनि धीरजले एक महिना बढी काम गरिसके,’उनले भने।

यदि बिनाजानकारी उनी गयल भए प्रहरी नियमावलीअनुसार प्रहरी प्रधान कार्यालयले यति दिन भित्र कार्यालयमा हाजिर हुन आउनु भनेर सार्वजनिक सूचना जारी गर्न सक्छ। वा त्यसपछि हेडक्वार्टरले स्पष्टीकरण सोध्‍न र कारबाही सिफारिस गर्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर