३१ असार २०८१, आइतबार

हाम्रो शनिबार : उनीहरुकै अनुभूति भएर

  • २१ जेठ २०७९, शनिबार
Image

 कविता :अमर गिरी

 कविता लेख्न बसेको छु

तर कविता विद्रोह गर्छ मसँग

भन्छ– म कविता होइन

चेपाङ बन्छु, मुसहर बन्छु

पोडे बन्छु, ज्यामी बन्छु

बन्छु एसिड छरिएकी युवती

जो जो छन् किनारामा

उत्पीडनको कहालीलाग्दो कारागारमा

जो जो बन्द छन् सदियौंदेखि

जोसँग आँखाका डिलहरुबाट

बगेर नसकिने दुखहरू छन्

दुखहरूभित्र वर्षौंदेखि बगिरहेका

तर बाहिर विस्फोट हुन नसकेका

विद्रोहका लावाहरू छन्

भन्छ– म तिनै तिनै बन्छु ।


कति गहिरो पीडा छ उनीहरूको आँसुमा

उनीहरूकै आँसु बनेर हेर्न चाहन्छु

मस्तिष्कमा घृणा र आक्रोशको

दन्किएको छ कस्तो आगो

अनुभव गर्न चाहन्छु

उनीहरुकै मस्तिष्क भएर

मुटु बनेर उनीहरुको थाहा पाउन चाहन्छु

धमनीहरु भएर बगेको छ

वेदनाको कति गहिरो नदी

दुखमा कसरी

एक अर्कालाई प्रेम गर्छन् उनीहरु

हजार कष्टहरुका बिचमा पनि

भोलिका निम्ति

कसरी साँच्छन् आफूलाई

र गाउँछन्, नाच्छन् र सपना देख्छन्

भन्छ– जान्न चाहन्छु उनीहरू भएर ।


बोल्न चाहन्छु उनीहरु भएर

उनीहरु भएर

हिँड्न चाहन्छु एक नयाँ बाटो

भन्छ– कवि म तिम्रो होइन

पोखिन चाहन्छु

उनीहरूकै अनुभूति भएर ।



प्रतिक्रिया

सम्बन्धित खवर