काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ५ वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाइने बताएका छन्। शुक्रबार भिडियोमार्फत उनले बालबालिकालाई खोप प्रदान गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिए।
पहिलो चरणमा २७ जिल्लामा ९ असारदेखि १५ असारसम्म पहिलो मात्रा र सोही समूहलाई २ साउनदेखि ८ साउनसम्म दोस्रो मात्रा सञ्चालन गरिनेछ । यस्तै दोस्रो चरणमा ५० जिल्लामा ५ भदौदेखि ११ भदौसम्म पहिलो मात्रा र सोही समूहलाई २७ भदौदेखि १ असोजसम्म दोस्रो मात्रा खोप लगाइनेछ।
अनुसन्धानअनुसार खोप सुरक्षित रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि मन्त्री खतिवडाले आग्रह गरे । खोप खरिद प्रक्रिया सुरु गरिए पनि कोभ्याक्समार्फत निःशुल्क ल्याउन थालिएको खतिवडाको भनाइ छ। ‘खोप खरिद प्रक्रियामा रहेको थियो। यसको मूल्य ६ अर्बभन्दा माथि रहेको थियो,’ उनले भने, ‘तर, मन्त्रालयले निरन्तर प्रयासमार्फत कोम्यभास सुविधामार्फत निःशुल्क ल्याउन लागेको हो ।’
केन्द्रीय भण्डारणमा राखेर सङ्घ, प्रदेश र स्थानीय तहमा खोप वितरण गरिनेछ । नेपालमा अहिलेसम्म ५ करोड ३३ लाख मात्रा खोप भित्रिइसकेको छ। १२ वर्षभन्दा माथिका ८५ प्रतिशतलाई पहिलो, दोस्रो र बुस्टर मात्रा खोप प्रदान गरिसकेको र ९६ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकेको उनले जानकारी दिए। सम्पूर्ण नागरिकलाई खोप लगाउनका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation