६ वैशाख २०८१, बिहिबार

इनरुटको मौसम कसले दिने भन्ने अन्यौल हुँदा आन्तरिक उडान प्रभावित

  • १८ जेठ २०७९, बुधबार
Image

काठमाडौँ । आज बिहान काठमाडौंबाट 'स्टल सेक्टर'मा उडान हुन नसकेको यति एयरले बताएको छ।

उडान हुने गन्तव्यहरुको मौसम राम्रो भए पनि इनरुटको मौसम कसले दिने भन्ने अन्यौल रहेका कारण मौसमको जानकारी प्राप्त नभएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, एयरलाइन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ,' उनले भने।

पर्वतीय उडान तथा अन्य 'नन-स्टल'का पाइलटले इनरुटको मौसम राम्रो रहेको जानकारी दिए पनि उडानको अन्यौलता भएको उनले बताए।

सम्बन्धित निकाएको समन्वयविना हचुवामा निर्णय हुँदा यात्रुहरूले सास्ती बेहोर्नु परेको भन्दै उनले आक्रोश पोखे। निर्णय सहि भए पनि कार्यान्वयनका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्थापनसँगै समन्वय गरी सुरक्षित उडान गर्ने वातावरण मिलाउनुपर्ने उनले बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अब वायुसेवा कम्पनीहरूलाई 'इनरूट'मा मौसम सफा भएपछि मात्रै उडान अनुमति दिने निर्णय गरेको छ।

यसअघि प्राधिकरणले विमान उडाइने स्थल र पुग्ने गन्तव्यको मौसमका आधारमा उडान अनुमति दिँदै आएको थियो। इनरूटको मौसमका सम्बन्धमा एयरलाइन्स आफैंले जाने कि नजाने भनेर निर्णय लिन्थे।

यो व्यवस्था भिज्युअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीमा आधारित रूटमा लागू हुनेछ। भिएफआर प्रणाली भनेको स्थान आँखाले हेर्दै उडान गर्नुपर्ने प्रणाली हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाको रिपोर्टका आधारमा इनरुटको मौसम हेरेर उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ। उडान सुरक्षालाई ध्यानमा राख्दै यस्तो नियम लागू गर्ने निर्णय गरिएको प्राधिकरण प्रवक्ता देवचन्द्रलाल कर्ण बताउँछन्।

मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको तारा एयरको ट्विनअटर जहाज दुर्घटनापछि प्राधिकरणले यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर