१५ चैत २०८०, बिहिबार

५ महिने छोरा छाडेर चुनावी मैदानमा

  • २७ वैशाख २०७९, मङ्गलबार
Image

महोत्तरी  । महोत्तरीको गौशाला नगरपालिकाकी एक महिला आफ्नो ५ महिनाको बच्चा छाडेर निर्वाचनमा होमिएकी छन् । ५ महिनाकी सुत्केरी महिला आफ्नो काखको दुधे बालकलाई छाडेर वडा अध्यक्षका लागि निर्वाचनमा होमिएकी हुन् ।

गौशाला नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएकी ३२ वर्षीया सविता महतो अहिले परिवार र उनको ५ महिनाको सन्तानको समेत प्रवाह गरिरहेकी छैनन् ।

आफ्नो परिवार रहने समाज बनाउन र विकासका काम गर्न निर्वाचनमा होमिएको सविता बताउँछिन् । बिहान ६ बजेदेखि राति अबेरसम्म अहिले उनी निर्वाचनकै प्रचारप्रसारमा व्यस्त छन् । परिस्थिति आफ्नो उम्मेदवारी खोजेका कारण परिवार भन्दा देश बनाउने कुरा ठूलो लागेकोले आफू काखको बच्चा छाडेर निर्वाचनमा होमिएको उनले बताइन् ।

विभिन्न संघ संस्था र नगरपालिकासँग जोडिएर काम गरेपछि स्थानीय तहभित्रको बेथिति थाहा पाएकाले त्यसले आफूलाई शान्त भएर बस्न नदिएकाले उम्मेदवारी दिएको उनले बताइन् । वडाबाटै बेथितिको अन्त्य गर्ने उनको प्रतिबद्धता छ ।

वडामा आएको विकास बजेट हिनामिना नगरी काम गर्ने र वडा बाटै विकास सुरु गर्ने लक्ष्य लिएर उम्मेदवारी दिएको उनको भनाइ छ । भ्रष्टाचार र कमिसनको खेल खतम गरी आफ्नै गाउँ टोलबाट विकासको थालनी आफैँले गर्ने उनले बताइन् ।

पार्टीबाटसमेत विद्रोह गर्दै उनले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । नेकपा माओवादी केन्द्रको गौशला नगरकमिटी सचिव सवितालाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा निर्वाचनमा होमिएको सुनले बताइन् ।

उनलाई परिवारका सबैले साथ दिएका छन् । सविताका देवर मनोज महतोले भाउजुले आफैंले जग बनाएकाले त्यस जगलाई बलियो बनाउन परिवारको साथ रहेको बताए । विवाह गरेर आएपछि नै परिवारको साथले नै पढाइ पूरा गरी सक्षम बनेकी भाउजुलाई जिताउन सिंगो परिवार र गाउँ बस्ती सबै लागेको उनले बताए ।

सविताकी सासु सोनावती महतोले बुहारीलाई शुभकामनासहित निर्वाचनमा पठाएको बताइन् । 'दुधे, काखे बालक मैसँग रहन्छ', उनले भनिन्, 'हामी बच्चालाई ख्याल गरेका छौं, उनलाई जितेर आउनू भनी शुभकामना दिएका छौ ।'

परिवार र समाजको साथ रहेकाले आफ्नो चुनावी माहोल राम्रो रहेको र निर्वाचन जित्ने विश्वास सविताको छ । उनलाई निर्वाचन कार्यालयले लालटिन चिह्न दिएको छ । सविता अहिले निर्वाचनको प्रचारप्रसारमै व्यस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर