१८ मंसिर २०७९, आइतबार

मतपत्र छपाइको सुरक्षा सेनाले गर्ने, देशभर तोकिए १० हजार ७५६ मतदान स्थल

  • १५ चैत २०७८, मङ्गलबार
Image

काठमाडौं- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभर १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरिएको छ भने तिनमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएको छ। 

निर्वाचन आयोगका अनुसार आइतबार बसेको आयोगको बैठकले स्थानीय तहको निर्वाचनका लागि मतदाताको संख्या, मतदान स्थल र मतदान केन्द्रको टुंगो लगाएको हो। 

आयोगले सार्वजनिक गरेको सूचीअनुसार मधेस प्रदेशमा सबैभन्दा बढी मतदान स्थल २ हजार १ सय ६३ वटा र ४ हजार १ सय ८९ वटा मतदान केन्द्र तोकिएका छन्। मधेस प्रदेशका ८ जिल्लामा गरी मतदाताको संख्या ३३ लाख ३१ हजार १ सय ७० रहेको आयोगले जनाएको छ। 

प्रदेश १ मा १ हजार ८ सय ७७ मतदान स्थल तथा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरिएको छ। जहाँ ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता छन्।

बागमती प्रदेशमा १ हजार ७ सय ९२ मतदान स्थल तथा ४ हजार ९५ मतदान केन्द्र राखिएका छन्, जुन प्रदेशमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८ सय ६९ जना मतदाता छन्।

आयोगका अनुसार गण्डकी प्रदेशमा १ हजार २ सय ५३ मतदान स्थल छन्, उक्त प्रदेशमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता छन्। 

यसैगरी ३२ लाख १९ हजार ४ सय ५७ मतदाता रहेको लुम्बिनीमा १ हजार ६ सय २९ मतदान स्थल तोकिएको छ। १० लाख १ हजार २ सय ८२ मतदाता रहेको कर्णालीमा ९ सय ७ मतदान स्थल निर्धारण गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा १ हजार १ सय ३५ मतदान स्थल तय गरिएको छ। जहाँ १६ लाख ३२ हजार १ सय ५० मतदाता रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।  

सुरक्षाको जिम्मा सेनालाई

स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको छ। केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइसम्बन्धी सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको हो।

शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले ४ वटा सुरक्षा अङ्गले प्रस्ताव गरेको योजनालाई परिमार्जन सहित स्वीकृत गर्ने निर्णय गरेको थियो। 

२०७९ वैशाख ३० मा हुने निर्वाचनको सुरक्षाका लागी सरकारले महत्त्वपूर्ण प्रतिष्ठान, संरचनाहरू (कारागार र विमानस्थल) समेतको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरी बललाई फिर्ता बोलाउने निर्णय गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर