६ जेठ २०८१, आइतबार

चितवन राष्ट्रिय निकुञ्जमा १५२ वन्यजन्तु मरे

  • १३ चैत २०७८, आइतबार
Image

काठमाडौं - चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनाको अवधिमा १५२ वन्यजन्तु मरेका छन्। तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल छन्।

चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा ती वन्यजन्तु मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार साउन १ गतेदेखि फागुन मसान्तसम्म ३२ वटा गैँडा मरेका छन् । दुई वटा तस्करीले मारेका हुन् भने बाँकी प्राकृतिक कारणले मरेका हुन्।

यस्तै अर्ना १०, बाघ २, रतुवा ३, मगर गोही दुई, जरायो ९, बँदेल दुई, सर्प दुई, अजिङ्गल दुई, लघुना चार, चखेवा दुई मरेका छन्। यसैगरी भालु, चितुवा, हात्ती, बकुल्ला, कछुवा, गौरीगाई, निलगाई, मलाहा बिरालो, गोहोरो, दुम्सी, पानीहाँस र बाँदर एक/एक वटा मरेका छन्।

तिवारीका अनुसार गैँडाबाहेक अन्य वन्यजन्तु प्राकृतिक कारणले मरेका छन्। अधिकांश बाघका आहारा प्रजाति भएका कारण कतिपयलाई बाघले मारेको हो। वन्यजन्तु, बुढो भएर, दलदलमा फसेर, भिरबाट लडेर, एक आपसमा जुधेर, शक्तिशाली जनावरले कमजोरलाई आक्रमण गरेर मर्ने गर्दछन्।

चितवन राष्ट्रिय निकुञ्ज वन तथा वन्यजन्तुका लागि प्रख्यात छ। यहाँ ६८ प्रजातिका स्तनधारी, ५४४ प्रजातिका चरा, ५६ प्रजातिका सरिसृप र १२६ प्रजातिका माछा पाइन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर