९ कार्तिक २०८३, आइतबार

भुपेन्द्र बडुवाल हत्या प्रकरण : जिल्ला अदालतको आदेशमा छुटेका तीन जना पुन: पक्राउ

  • ८ चैत २०७८, मङ्गलबार
Image
हत्या गरिएका भुपेन्द्र बडुवाल।

धनगढी - कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्या घटनाका तीन जना अभियुक्तलाई पुनः पक्राउ गरी अनुसन्धान गर्न उच्च अदालतले आदेश दिएको छ।

गत कार्तिक २३ गते साँझ लखेटेर धारिलो हतियार प्रहार गरी टीकापुर नगरपालिका-१ मा बडुवालको बीभत्स ढंगले हत्या गरिएको थियो।

बडुवालको हत्या आरोपमा प्रहरीले १२ जनामाथि मुद्दा चलाएको थियो। त्यसमध्ये कैलाली जिल्ला अदालतले तीनजना अभियुक्तलाई धरौटीमा छाडेर ९ जनालाई पुर्पक्षमा राख्न आदेश गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीका अनुसार उक्त मुद्दामा पुनरावेदन गर्दा मंगलवार उच्च अदालतले यस्तो आदेश दिएको हो।

प्रहरीका अनुसार तत्काल पक्राउ परेका अभियुक्तहरु मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिका-३ का २६ वर्षीय सन्तोष भनिने सविनजंग शाही, लम्कीचुहा-३ का २८ वर्षीय विकास खड्का र बर्दगोरिया गाउँपालिका-२ का २५ वर्षीय लोकेन्द्र कुवँरलाई पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला अदालतबाट धरौटी तारेखमा छाडिएको थियो। इलाका प्रहरी कार्यालय लम्की र बौनियाबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरेको डिएसपी जोशीले बताए। उनीहरूलाई आजै अदालतमा दाखिल गरिने उनले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर