१० असार २०८१, आइतबार

झलनाथ खनाल भन्छन्- अबको चुनावमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ

  • ५ चैत २०७८, शनिबार
Image

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् । खनालले  संविधानको उल्लंघन गरेर दुई–दुईपटक संसद् विघटन गर्ने ओलीले अहिलेसम्म सजाय नपाएको टिप्पणी गरे।

अबको निर्वाचनको माध्यमबाट ओलीलाई सजाय दिनुपर्ने खनालको भनाइ छ। पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै खनालले भने,'अब यो आउने निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ। र, उनको बाकसमा जिरो मत पाउनु पर्छ, हेर्नुस्। तब मात्रै बास्तवमा नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहरिन्छ।'

ऐन उलंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रुपमा जीवन बिताउनुपर्ने, तर संविधान उलंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै उहाँले नेपाली जनताले उनलाई निर्वाचनको माध्यामबाट सजाय दिनुपर्ने खनालको भनाइ छ। ‘संविधानका प्रावधानहरुको विरुद्ध गएर संसद विघटन गर्ने योजना बनाए। यो अर्को दक्षिणपन्थी अवसरवाद हो। दक्षिणपन्थी भड्कावको कुरा हो।

अपराधको कुरा पनि हो त्यो,' खनालले भने, 'एउटा सामान्य ऐन उलंघन गर्दाखेरी मान्छे जेल जान्छ। तर, संविधान नै उलंघन गर्ने मान्छेलाई खै सजाय अहिलेसम्म?' संविधानको प्रावधानविरुद्ध गएर संसद विघटन गर्ने योजना बनाउने काममा ओलीलाई सहयोग गरेको भन्दै नेता खनालले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति पनि असन्तुष्टि पोखेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर