१६ चैत २०८०, शुक्रबार

प्रधानमन्त्री देउवाले दोस्रो ठूलो सबस्टेसनको उद्घाटन गर्दै

  • ४ चैत २०७८, शुक्रबार
Image

काठमाडौं- जलविद्युत आयोजना निर्माण गरेर मात्रै हुँदैन। त्यसका लागि प्रसारण लाइन सबस्टेसनको पनि उत्तिकै आवश्यकता पर्दछ। प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत आयोजनाबाट उत्पादित बिजुली सबस्टेसन भएर तपाईं हाम्रो घर–घरमा आइपुग्छ। उद्योग कलकारखानामा पुग्छ।

पछिल्ला दिनमा सरकारले जलविद्युत आयोजनाको निर्माणसँगै प्रसारण प्रणाली र सबस्टेसन निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ। देशभित्र उत्पादित बिजुली देशभित्रै खपत गराउने उद्देश्यका साथ सरकारले अनेकन प्रयास गरिरहेको छ।

देशभित्र हाल ४०० केभी क्षमताको ढल्केबर सबस्टेसन निर्माणपछि सञ्चालनमा आइसकेको छ। सोही क्रममा देशकै अर्को दोस्रो ठूलो सबस्टेसन आगामी शनिबार उद्घाटन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

सो सबस्टेसनलाई प्राधिकरणले न्यूखिम्ती नाम दिएको छ। रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेसनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ। सोही सबस्टेसन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौं जोडिएको छ। सबस्टेसनमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ। सो सबस्टेसनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ।

ढल्केबरपछिको यो दोसो ठूलो सबस्टेसन भएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीन वटा सबस्टेसन सञ्चालनमा छन्। न्यूखिम्ती सबस्टेसनका इलेक्ट्रिकल इञ्जिनियर प्रदीप दाहालका अनुसार शनिबार प्रधानमन्त्रीबाट हुने उद्घाटनको कार्यक्रमको तयारी पूरा भएको छ।

वि.सं २०७५ देखि निर्माण सुरू भएको सो सबस्टेसन गत असारमा निर्माण सम्पन्न भएको हो। सुरूआती लागत एक अर्ब ५० करोड रुपैयाँ बराबर भएपछि प्राकृतिक विपत्ति, कोरोना त्रास लगायतका अन्य कारणले गर्दा थप केही ‘भेरियसन’ भएको छ।

नयाँखिम्ती सबस्टेसनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बिजुली जोडिएको छ। यस्तै, ५२.४ मेगावाट क्षमताको लिखु दोस्रो र २४.१ मेगावाट क्षमताको लिखु ए जलविद्युत आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ।

यस्तै, गज्र्याङ हाइड्रोपावर, खिम्ती-२ को बिजुलीसमेत सोही सबस्टेसनमा जोडिनेछ। हालको क्षमताअनुसार सो सबस्टेसनमा कूल ९०० मेगावाट बराबर बिजुली जोड्न सकिने फोरम्यान सिभिल विश्वासकुमार भण्डारीले जानकारी दिए। 

रामेछाप, दोलखा लगायतका जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले सो सबस्टेसन प्राधिकरणको भाषामा हब सबस्टेसनका रूपमा विकास हुनेछ। गत साउनको अन्तिम साता सो सबस्टेसन चार्ज गरिएको थियो।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसीको बिजुली देशभर उपलब्ध गराउनका लागि महत्वपूर्ण मानिएको सो सबस्टेसनको सञ्चालनपछि बिजुली प्रवाहमा थप सहजता उत्पन्न हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ। माथिल्लो तामाकोसीको झण्डै एक अर्ब युनिट बिजुली सोही सबस्टेसन भएर प्रवाह भइसकेको छ।

सबस्टेसनमा चार वटा पावर ट्रान्सफर्मर जडान भएका छन्। जडान भएका ट्रान्सफर्मरमध्ये तीन वटा नियमित सञ्चालनमा ल्याइने र एउटा भने जगेडामा रहनेछ।

सरकारको विशेष चासोका साथ मार्गदर्शन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियमित अनुगमनपछि आयोजना सम्पन्न भएको न्यूखिम्ती सबस्टेसनका कर्मचारीको भनाइ छ। 

‘काम सम्पन्न हुँदा असाध्यै खुसी लागेको छ। त्यसमाथि प्रधानमन्त्रीले नै उद्घाटन गर्न लाग्नुभएकाले हामीले गरेको कामप्रति अझै गौरवको महसुस भएको छ’, इलेक्ट्रिकल इञ्जिनियर दाहालले भने।

सिभिल फोरम्यान भण्डारीले पनि लामो मेहनतपछि आयोजना सम्पन्न हुँदा प्राधिकरणका सबै कर्मचारीले गौरवको महसुस गरेको बताए। केही दिनअघि मात्रै ऊर्जामन्त्री पम्फा भुसालले सर्लाहीको लालबन्दीमा निर्माण सम्पन्न भएको १२२/३३ केभी सबस्टेसनको उद्घाटन गरेकी थिइन्।

यस्तै, आजमात्रै न्यू बुटवल–बर्दघाट २२०/१३२ केभी सबस्टेसनको उद्घाटन गरिन्। यसबाट पनि वर्तमान सरकारले ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान र चासो दिएको स्पष्ट हुन जाने ऊर्जा मन्त्रालयको भनाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर