काठमाडौं - नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन आजबाट सुरु भएको छ।
अधिवेशन अन्तर्गत निर्वाचनका लागि कार्यक्रम तालिका र मतदाता नामावली सार्वजनिक भइसकेको निर्वाचन अधिकृत देवबहादुर महतले बताए।
शुक्रबार दिउँसोबाट मनोनयन दर्ता सुरु हुनेछ। महतका अनुसार अहिले सरोकारवालासँग छलफलको चलिरहेको छ भने त्यसपछि लगत्तै मतदाता नामावली सार्वजनिक गरिने छ।
दिउँसो १:३० बजेदेखि ३:३० बजेसम्म मनोनयन दर्ताको कार्यक्रम संचालन गर्ने कार्यतालिका रहेको छ। ४:१५ मा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिने र ५:४५ बजेसम्म उम्मेदवारीमाथि दाबी विरोधको समय रहेको महतले बताए। उनका अनुसार साँझ ६:४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ।
अधिवेशन अन्तर्गत मतदान भने शनिबार बिहान ८ बजेबाट सुरु हुने र अपरान्ह ३ :३० बजेसम्म चल्ने छ। लगत्तै मतगणना सुरु हुने कार्यतालिका छ।
तीन जना भिड्दै
पार्टीको जिल्ला नेतृत्वका लागि तीन जना भिड्ने भएका छन्। वंशलाल तामाङ, डा. प्रेमध्वज लामा र जंगबहादुर लामा सभापति पदमा चुनाव लड्ने तयारीमा छन्।
तामाङ संस्थापन इतर पक्षका हुन् भने अन्य दुई उम्मेदवार संस्थापन पक्षका हुन्। तामाङ इन्द्रावती गाउँपालिकाका अध्यक्ष हुन् भने प्रेमध्वज लामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक थिए। सिन्धुपाल्चोक कांग्रेसमा यसअघि संस्थापन इतर पक्षको पकड थियो।
क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संख्याका आधारमा भने जिल्लामा संस्थापन पक्षले बलियो देखिन्छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation