काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा गरिएको सुरक्षाको अवस्था निरीक्षण गरेका छन्। गृहमन्त्री खाणले भक्तालुहरुलाई सहजरुपमा आराध्यदेव भगवान् शिवको पूजा–आराधना गर्ने प्रबन्ध मिलाउनका लागि सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले पशुपति दर्शनसमेत गरेका छन्। उनले सुरक्षा व्यवस्था र शान्ति खलल पुर्याउने काम हुन नदिनका लागि सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका हुन्।
हरेक वर्ष महाशिवरात्री मेला लाग्ने पशुपतिमा विगतका दुई वर्ष कोरोना महामारीका कारण तुलनात्मक रूपमा चहलपहल कम भएपनि यस वर्ष भने रौनक सुरु भएको छ।
थुप्रै साधुसन्त आइसकेको र केही साधुहरू अझ पनि आउने क्रम जारी रहेको कोषको भनाइ छ। प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा नेपाल, भारतलगायत विश्वका विभिन्न स्थानबाट साधु-सन्त तथा भक्तहरू पशुपतिमा आउने गर्छन्। साधुसन्तका साथै नागाबाबाहरुको संख्या पनि उल्लेख्य छ।
महाशिवरात्रीका लागि आएका बाबाहरूलाई औँसीका दिन दक्षिणासहित बिदाइ गर्ने परम्परा छ। साधुसन्तहरूले अखडामा धुनी जगाएका छन्।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation