८ वैशाख २०८१, शनिबार

रुसलाई परमाणु हतियारका लागि सहज बनाउन बेलारुसको संविधान नै परिवर्तन

  • १६ फागुन २०७८, सोमबार
Image

मिन्स्क- रुसको साथ दिँदै आएको बेलारुसले परमाणु हतियार प्रयोग गर्न वा राख्नका लागि आफ्नो संविधान नै परिवर्तन गरेको छ। सोभियत युनियनको पूर्व सदस्य तथा हाल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै नजिकको सहयोगी बेलारुसले परमाणु हतियार बन्देज गर्ने संवैधानिक व्यवस्थानै परिवर्तन गरेको हो।

आइतबार मतदान (जनमतसंग्रह) मार्फत बेलारुसले नयाँ संविधान लागु गर्ने निर्णय गरेको हो। नयाँ संविधानले बेलारुसलाई परमाणु हतियार बिहीन राष्ट्रको पहिचान खारेज गरेको छ। अब बेलारुसले परमाणु हतियार राख्न पाउने भएको छ।

सन् १९९० मा स्वतन्त्रता प्राप्त गरेपछि पहिलोपटक बेलारुस परमाणु हतियारमा फर्किएको हो। युक्रेनमा रुसी आक्रमणका लागि अब बेलारुस थप महत्वपूर्ण भूमि बन्ने देखिएको छ।

यसअघि नै बेलारुसमा रुसी सैनिक तैनाथ छन् र उनीहरुले लगातार युक्रेनमाथि आक्रमण गरिरहेका छन्। रुसी राष्ट्रपति पुटिनले आफ्नो आर्मीलाई परमाणु हतियार उच्च शतर्कतासहित तयारी अवस्थामा राख्न भनेका बेला रुसले परमाणु हतियारका लागि संविधान नै परिवर्तन गरेको हो।

आइतबार मतदान स्थलमा बोल्दै पुटिनका सहयोगी बेलारुसी राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले भने, ‘यदी तिमिहरु (पश्चिमा राष्ट्र) ले हाम्रो देशको सीमा जोडिएको पोल्याण्ड वा लिथुवानियामा परमाणु हतियार ल्यायौ भने मैले पनि पुटिनलाई परमाणु हतियार हाम्रोमा ल्याउने भन्ने छु। त्यसका लागि कुनै शर्त नै लागु गर्ने छैन।’

आइतबार भएको जनमतसंग्रहले लुकाशेन्कोलाई सन् २०३५ सम्म सत्तामा रहन मार्ग प्रशस्त गरेको छ। उनी सन् १९९४ देखि बेलारुसको राष्ट्रपति छन्।

सन् १९९४ र १९९६ को बीचमा पूर्व सोभियत युनियन सदस्य राष्ट्र बेलारुस, युक्रेन र काजखस्तानले परमाणु हतियार परित्यागको सहमति गरेका थिए। तर सो सहमति पछि तोडिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर