७ वैशाख २०८१, शुक्रबार

एक लाख २० हजारभन्दा बढी युक्रेनी मुलुक छोड्न बाध्य, ३५०० रुसी सेनाको मृत्यु भएको दाबी

  • १५ फागुन २०७८, आइतबार
Image

किभ- रुसले लगातार युक्रेनमाथिको आक्रमण जारी राखेपछि युक्रेनबाट एक लाख २० हजारभन्दा बढी युक्रेनीहरु मुलुक छोड्न बाध्य भएका छन्। 

युक्रेनका विभिन्‍न सहरहरुमा रुसी सेनाका ट्यांकहरु गुड्नुका साथै निरन्तर आक्रमण भएपछि जीवन जोगाउनका लागि युक्रेनीहरुले देश छोड्न लागेका हुन्।

अधिकांश युक्रेनीहरु पोल्यान्ड सेमा क्षेत्रबाट मुलुक छोड्ने गरेको बीबीसीले जनाएको छ। रुसको आक्रमणमा परी करिब २४० सर्वसाधारणले ज्यान गुमाएको संयुक्त राष्ट्रसंघले जनाएको छ।  

राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले चार करोड जनसङ्ख्या भएको युक्रेनमा विभिन्न दिशाबाट ठूलो आक्रमण गरिरहेको छ।


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको बताएका छन्। राष्ट्रपति जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

युक्रेनका स्वास्थ्यमन्त्रीले रुसले आक्रमण गरेपछि अहिलेसम्म १९८ जना युक्रेनी नागरिकको मृत्यु भएको जानकारी दिएका छन्।

पोल्यान्डले विश्वकप २०२२ का लागि रुससँग प्लेअफ खेलमा सहभागी हुन अस्वीकार गरेको छ।

यूकेका सशस्त्र बलसम्बन्धी मन्त्री जेम्स हिपीले यूके र अन्य २५ देशहरूले युक्रेनलाई थप ‘मानवीय सहायता वा सैनिक सहयोग’ उपलब्ध गराउने सहमति गरेको जनाएका छन्। रुसी आक्रमणविरुद्ध लडिरहेको युक्रेनका लागि पश्चिमा देशहरूले सहयोग उपलब्ध गराउने बताइरहँदा फ्रान्सले किभलाई हतियार र अन्य सामाग्री पठाइरहेको छ।


फ्रान्सको जलसेनाले रुसको सेन्ट पिटर्सबर्ग जाँदै गरेको मालवाहक पानीजहाज इङ्लिश च्यानलमा रोकेको बीबीसीले जनाएको छ। रुसी आक्रमणपछि युक्रेनमा अलपत्र परेका आफ्ना सयौँ नागरिकको उद्धारका लागि भारतले एउटा विमान पठाएको छ। किभको जुलीयानी विमानस्थल नजिकै क्षेप्यास्त्रका कारण क्षति पुगेको एउटा अपार्टमेन्ट भवनका थप तस्बिरहरू बाहिर आएका छन्।

युक्रेनले आक्रमणमा सम्मिलित ३,५०० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर