१६ चैत २०८०, शुक्रबार

युक्रेन संकट: दूतावासको सम्पर्कमा आए १९३ नेपाली, उद्धारका लागि पहल गरिँदै

  • १५ फागुन २०७८, आइतबार
Image
प्रतिनिधि तस्बिर।

काठमाडौं- युक्रेनमा रहेका नेपालीहरू सुरक्षित रहेको र सम्पर्क भइरहेको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार हालसम्म एकसय ९३ जना नेपाली सम्पर्कमा आएका छन्।

रुसले बिहीबार युक्रेनमा सैन्य हमला गरेसँगै त्यहाँ रहेका नेपालीहरू समस्यामा परेका छन्। युक्रेनमा आपत्कालीन अवस्था घोषणा गरिएको छ। युक्रेन सरकारले आफ्नो हवाई क्षेत्र तत्कालका लागि बन्द गरेको छ। युक्रेन सरकारले सूचना जारी गर्दै कसैलाई पनि घर बाहिर ननिस्कन आग्रह गरेको छ। यससँगै त्यहाँ रहेका नेपालीहरू  समस्यामा परेका हुन्।

युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको अनुमान छ। रुसले पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै दूतावासले त्यता जान आग्रह गरेको छ। युक्रेनको राजधानी र पूर्वी क्षेत्रमा रहेका नेपाली  स्थलमार्गबाट सुरक्षित स्थानतर्फ गइरहेका छन्।

युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कनको लागि ती देशतर्फ जान सकिने दूतावासले जनाएको छ। सीमा नाकामा प्रवेश गर्नको लागि राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपी र फोटो दूतावासको ठेगानामा पठाउन दूतावासले एक सूचना जारी गर्दै आग्रह गरेको छ।

दूतावासले युक्रेन सरकार र सम्बन्धित कलेज/विश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जान, राहदानी, परिचयपत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न र साथीभाइ तथा परिवार र नियोगसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेको छ। युक्रेनको पछिल्लो घटनाक्रमबारे नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ।

युक्रेनमा रहेका नेपालीको उद्धार गर्न सरकार अझै अलमलमा छ। भारतले युक्रेनबाट आफ्ना नागरिक उद्धारको तयारी गरी उनीहरूलाई जम्मा गरिरहेको छ। तर, नेपालले अहिलेसम्म ठोस निर्णय र कदम चालेको छैन।

दूतावासले युक्रेनस्थित प्रवासी नेपालीका संगठन, त्यहाँ लामो समय बसेका नेपाली, केही विद्यार्थी मार्फत् नेपालीको अवस्थाबारे सूचना लिइरहेको छ। नेपालीहरु मारियोपोल, ओडेसा, खार्कोव, लुज्क, बेलिचेर्कोभ लगायत सहरमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर